बारा — निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजन श्रेष्ठविरुद्ध किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीकहाँ उजुरी परेको छ । १५ वर्षीया किशोरीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि प्रहरीले वडाध्यक्ष श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गर्न बारा जिल्ला अदालतबाट अनुमति दिइसकेको छ ।

तर वडाध्यक्ष श्रेष्ठ घटना भएदेखि नै वडाको काम छाडेर फरार भएकाले पक्राउ पर्न नसकेका हुन् । घटनालाई दबाउन खोजिए पनि दुई सातापछि घटनाबारे सार्वजनिक भएको हो ।

गत असोज २५ मा पीडितले इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएपछि प्रहरीले पीडितको स्वास्थ्य परीक्षण गराएको छ । दसैंको टीकाको राति ८ बजे वडाअध्यक्ष श्रेष्ठले बालिकालाई प्रलोभन देखाएर आफ्नै घरमा बोलाई बलात्कार गरेको पीडितबाट उजुरी आएको निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीव ओलीले बताए ।

‘वडाध्यक्षलाई पक्राउ गर्न सबै विधि र तरिका अपनाएका छौं,’ प्रहरी निरीक्षक ओलीले भने, ‘बलात्कार आरोप लागेकाले अनुसन्धान गर्न पक्राउ गर्छौं ।’

वडाध्यक्ष फरार भएपछि सेवाग्रहीसहित वडाको दैनिक प्रशासनिक कार्य भने प्रभावित भएको छ । नगरपालिकाले सेवाग्रहीहरूको कामको विकल्पबारे कुनै उपाय दिन सकेको छैन ।

वडाध्यक्ष श्रेष्ठ घटनाकै दिनदेखि फरार रहेकाले दुई सातादेखि वडाको काम प्रभावित छ । अरु कुनै वडा सदस्यले कार्यवाहक पाएका छैनन् ।

नगरपालिकाले पनि कुनै बन्दोवस्त मिलाएको छैन । कार्यवाहक कसलाई दिने र कसले लिने भन्ने विषयमा वडाका सदस्यहरूबीच भने चर्को विवाद उत्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय