तेल उत्पादन घटाउने ओपेक प्लस देशहरूको निर्णय बारे केही आलोचना भएपछि साउदी अरबले अब एक विज्ञप्ति जारी गरेको छ । यसमा अमेरिकालाई विशेष निशाना बनाइएको छ । साउदी अरबले रुसको पक्षमा रहेको र अमेरिकाविरुद्ध राजनीति गरेको आरोप अस्वीकार गरेको छ ।
साउदी अरबको विदेश मन्त्रालयले भन्यो, ‘ओपेक प्लस निर्णय पछि साउदी अरब बारे आएका बयानमा साउदी अरब अन्तरराष्ट्रिय द्वन्द्वमा पक्ष लिइरहेको र ऊ अमेरिकाविरुद्ध राजनीतिक रुपले प्रेरित भएको बताइएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘साउदी सरकारले अमेरिकी प्रशासनसँग लगातार भइरहेको कुराकानीमा स्पष्ट रुपमा ओपेक प्लसको निर्णयलाई एक महिना पछि सार्दा नकारात्मक आर्थिक नतिजा आउने बताएको थियो । यो निर्णय स्थगित गर्न सुझाव दिइएको थियो । युक्रेन संकटको सन्दर्भमा साउदी अरबको स्थिति बारे तथ्यलाई बङ्ग्याउनु दुर्भाग्यपूर्ण छ र यसले साउदी अरबको स्थितिलाई परिवर्तन गर्दैन । यसमा रुस–युक्रेन द्वन्द्वमा संयुक्त राष्ट्रसंघको प्रस्तावको समर्थनमा मतदान पनि समावेश छ ।’
विदेश मन्त्रालयले भन्यो, ‘साउदी अरबले देशको सार्वभौम क्षेत्रहरूमा कुनै पनि आक्रमण अस्वीकार गर्दछ । साउदी अरब एकातिर आफ्नो मित्र देशसँग बलियो सम्बन्धको पैरवी गर्छ त अर्कातिर विश्वव्यापी अर्थतन्त्रको सुरक्षाको राम्रो कारणलाई विकृत गर्ने प्रयासलाई अस्वीकार गर्दछ ।’
अक्टोबर ५ मा, ओपेक प्लसले तेल उत्पादन प्रति दिन २० लाख ब्यारेलले कटौती गर्ने घोषणा गरेको थियो । अमेरिकाले पहिले जस्तै तेल उत्पादन जारी राख्न धेरै प्रयास गरे पनि साउदी अरबलगायत ओपेक प्लस देशहरूले उत्पादन घटाउने निर्णय गरे ।
ओपेक प्लसको निर्णय पछि, अमेरिकी राष्ट्रपति जो बिडेनले साउदी अरबलाई तेल उत्पादन कटौती गर्ने ओपेक प्लसको निर्णयले ‘गम्भीर परिणाम’ निम्त्याउने चेतावनी दिए ।
अमेरिकाले ओपेक प्लसलाई रुसको पक्षमा रहेको आरोप लगाएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारिन–जीन–पियरेले मंगलबार भनिन्, ‘यो स्पष्ट छ कि ओपेक प्लस रूसको समर्थनमा छ ।’




