सिरहा । सिरहामा दुई वहालवाला मन्त्रीसहित विभिन्न राजनीतिक दलका उम्मेदवारले पुनः प्रदेश सांसदका रूपमा निर्वाचित भएर दोहोरिन उम्मेदवारी दर्ता गराएका छन् ।
आठवटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लाभरि एक सय २९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा पुनः दोहोरिने गरी पाँच निवर्तमान सांसदले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

निवर्तमान सांसदहरू क्षेत्र नम्बर १ (ख) अशोक कुमार यादव (एकीकृत समाजवादी), क्षेत्र नम्बर २ (क) विजय कुमार यादव (जसपा नेपाल), २ (ख) मदनसेन प्रसाद श्रीवास्तव (एकीकृत समाजवादी), क्षेत्र नम्बर ३ (ख) प्रमोद कुमार यादव (एकीकृत समाजवादी) र क्षेत्र नम्बर ४ (ख) सुरेश मण्डल (जसपा नेपाल)ले यसपटक पनि उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउनेमा दुईजना बहालवाला मन्त्रीसमेत छन् । क्षेत्र नम्बर २ (क)बाट उम्मेदवारी दर्ता गराएका विजय कुमार मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन् भने क्षेत्र नम्बर ३ (ख)बाट उम्मेदवारी दर्ता गराएका प्रमोद कुमार कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री हुन् ।
यस्तै, क्षेत्र नम्बर ४ (ख)बाट उम्मेदवार बनेका सुरेश कुमार पूर्वपर्यटन, वन तथा वातावरण राज्यमन्त्री हुन् । सिरहा क्षेत्र नम्बर २ (ख)बाट उम्मेदवारी दर्ता गराएका मदनसेन मधेस प्रदेशको कृषि तथा भूमि व्यवस्थापन समितिका सभापति रहेका छन् ।



