जनता समाजवादी पार्टीका नेता तथा पूर्व राज्यमन्त्री शत्रुधन प्रसाद सिंहले जसपा परित्याग गरेका छन् । अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गर्दै उनले पार्टी परित्याग गरेको पत्र पठाएका हुन् ।
सिंहको नाम सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा सिफारिस भएको थियो । सोही क्षेत्रबाट अध्यक्ष उपेन्द्र यादव र प्रदेश अध्यक्ष विजय यादवको पनि नाम सिफारिस भएको थियो ।

पार्टीले सो क्षेत्रमा आफूलाई टिकट नदिने बुझेपछि सिंहले जसपा परित्याग गरेको बताइएको छ । उनी पहिलो संविधानसभामा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने २०७४ सालमा वाम गठबन्धनका सुरेशचन्द्र दाससँग पराजित भएका थिए ।
उनले पत्रमा लेखेका छन्, ‘पार्टीको सबै तह र साधारण सदस्य समेत आजैको मितिबाट लागु हुनेगरी परित्याग गरेको जानकारी गराउँदछु ।’ ५ दलिय गठबन्धनको नाउमा पार्टीले मधेशी जनताको भावना विपरित मधेशको अस्तित्व नै धरापमा पार्ने कार्यहरु गरेको उनले आरोप लगाएका छन् ।
लामो संघर्षपछि बचाइराखेको पार्टीको आस्था र भावना विपरित कार्यकर्ता मन मष्तिस्कमा पुर्याएको चोट सहन गर्न नसकी जसपा परित्याग गरेको उनले उल्लेख गरेका छन् ।

को हुन् सिंह ?
सिंह ०६३/०६४ देखि मधेस आन्दोलनमा सक्रिय भूमिका खेलेका हुन् । उनी पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरमबाट पहिलो संविधान सभा सदस्यमा तत्कालीन सिरहा क्षेत्र नम्वर ४ मा निर्वाचित भएका थिए । उपेन्द्र यादव नेतृत्वको फोरम विभाजन हुँदा सिंह विजय गच्छेदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)मा गएपछि पर्यटन राज्यमन्त्री बन्न सफल भएका थिए ।
दोस्रो संविधानसभा सदस्यमा फोरम लोकतान्त्रिकबाटै सिंहले सिरहा ४ मै चुनाव लडेका थिए । तर पराजित व्यहोरे । फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा समाहित भएपछि उनी पुनः उपेन्द्र यादवको पार्टी रोजे ।
०७४ को चुनावमा उनले संघीय समाजवादी फोरमबाट अहिलेको सिरहा क्षेत्र नम्वर २ मा चुनाव लडेपनि पुनः पराजित भए । सिंह यो पटक पनि चुनाव लड्ने तयारीमा छन् । तर सत्ता गठबन्धनको सिट बाँडफाँटमा सिरहा क्षेत्र नम्वर २ कांग्रेसको भागमा पर्ने लगभग निश्चित भएपछि उनी जसपा परित्याग गरेको बुझिएको छ ।
स्रोतका अनुसार सिंह नेकपा एमालेमा प्रवेश गर्न जसपा परित्याग गरेका हुन् । एमालेमा प्रवेश गरी सिरहा क्षेत्र नम्वर २ बाट उम्मेदवारी दिने बुझिएको छ । उनी एमाले नेताहरुसंग पटक पटक छलफल गरिसकेका छन् ।




