सिरहा । सदरमुकम सिरहामा रहेको नापी कार्यालय, सिरहाले नीति विपरीत जग्गा कित्ताकाट गरेको खुलासा भएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ मा निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको थियो ।
भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ मा भएको व्यवस्थालाई कार्यान्वयनमा सहजीकरण गर्न नेपाल राजपत्रमा सूचना प्रकाशित गरि भूउपयोग कार्यक्रम संचालन नहुन्जेलसम्म वा भूउपयोग नियमावली २०७९ को नियम ५ को उपनियम (७) बमोजिम चार किल्ला कृषि क्षेत्र नतोकेसम्म देहाय बमोजिम गर्ने गराउने व्यवस्थाका लागि मातहत कार्यालयहरुलाई परिपत्र गर्न निर्देशन दिने मन्त्रीस्तरीय निर्णय पत्राचार गरेको छ ।

१२ बुँदे मन्त्रीस्तरीय निर्णय अनुसार खेतीयोग्य जग्गा (कृषि क्षेत्र) वा गैह्रकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषद्ले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि क्षेत्र र गैह्रकृषि क्षेत्र वर्गीकरण गर्नु पर्ने र सोही निर्णय बमोजिम मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनका लागि सिफारिस गर्ने र सोही अनुसार नापी कार्यालय र मालपोत कार्यालयले प्रकृया अगाडी बढाउने उल्लेख छ । उक्त निर्णय अनुसार भूमी व्यवस्थापन तथा अभिलेख विभागले जेठ ३० मा देशभरका भूमी सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयलाई पत्राचार गरेको थियो ।
यस्तै मालपोत कार्यालय सिरहाले मन्त्रालय र विभागले पठाएको पत्रको आधारमा जेठ ३१ मा ‘जग्गाको वर्गीकरण लगायतका काम कारबाहीहरु सम्पादन नभएसम्म यस कार्यालयबाट प्रवाह हुने सो सम्बन्धी सेवाहरु स्थगित भएको’ व्यहोरा सहितको सूचना प्रकाशित गरेको थियो ।

त्यस विपरीत सिरहाको नापी कार्यालयले आर्थिक लेनदेनको आधारमा कित्ताकाट गरेको खुलासा भएको नाम उल्लेख नगर्ने सर्तमा एक लेखापढ व्यवसायीले बताए । नापी कार्यालय सिरहाले असार महिनामा २७ वटा कित्ताकाट गरेको छ । राजिनामा मार्फत २७ वटा र अदालतको आदेश अनुसार १४ वटा कित्ताकाट गरेको छ । कानूनतः स्थानीय तहहरुले जग्गाको वर्गीकरण नगरेसम्म कित्ताकाट गर्न पाईदैन् । खेतीयोग्य जमिन प्लाटिङ भईरहेको उजुरी परेपछि मन्त्रालयले जग्गा वर्गीकरण गर्न जोड दिएको छ । खेतीयोग्य जग्गा बाहेक घडेरी लगायतका जग्गालाई कित्ताकाट गर्ने गरी मन्त्रालयले परिपत्र गरेको छ । अहिले सिरहा जिल्लामा कृषि योग्य जग्गाको वर्गिकरण नहुँदै आर्थिक लेनदेनमा नापी कार्यालय सिरहाले कित्ताकाट गरेको स्थानीय यूवा अरुण यादवले बताएकाछन् ।

एकातिर गाउँब्लक जग्गाको नापजोख गर्न नसकेको नापी कार्यालय सिरहाले आर्थिक लेनदेनकै आडमा ऐन, नीति विपरीत जग्गाको कित्ताकाट गरिएको छ । एकजना लेखापढी कानून व्यवसायीले नापी कार्यालयका प्रमुखले मोटो रकम लिएर जग्गा कित्ताकाट गर्ने गरेको बताए । आफ्नो नाम उल्लेख नगर्ने शर्तमा उनले गुपचुप रुपमा रकम लिई कित्ताकाट गरेको र मोटो रकम असुल्ने गरेको बताए ।
नापी कार्यालय सिरहाका प्रमुख रविन सिंहले भूउपयोग नियमावली जारी हुनु अगावै नियमानुसार मालपोत कार्यालय मोठ भिराएर नापी कार्यालयमा दर्ता भएको जग्गाको कित्ताकाट गरिएको दावी गरेका छन् । जग्गा लिनेदिनवीचमा पहिले नै सझदारी भएकाहरुको कित्ताकाट गरिएको दावी गरेका प्रमुख सिंहले कार्यालयमा चाप वढी हुँदा समयमा कित्ताकाट गर्न नसकिएको वा सेवा ग्राहीले मालपोत कार्यालयमा दर्ता गराएर ढिलोगरी नापी कार्यालयमा ल्याएका जग्गाको कित्ताकाट गरिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय