जिल्ला अस्पताल हुम्लामा आधारभूत औषधिको रचम अभाव देखिएको छ। १५ शय्या रहेको एक मात्रै जिल्ला अस्पतालमा १५ दिनदेखि औषधिको चरम अभाव देखिएको हो।
पेट दुख्ने र शरीर काम्ने बिरामीले थला परेकी सिमकोट गाउँपालिका– ६ की रत्ना सुनार अस्पताल आएकी थिइन्। औषधि नभएपछि निजी मेडिकलबाट औषधि किनेर उपचार गर्न बाध्य भएको उनले बताइन्।

दैनिक २० देखि २५ जना बिरामी बालबालिका उपचारका लागि आउने गरे पनि उनीहरूका लागि चाहिने सिटामोल सिरम, खोकीको सामान्य औषधिसमेत नभएको उनले बताए।
जिल्ला अस्पतालको स्टोर सम्हाल्दै आएका कलबहादुर रावतले १५ देखि २० थरीका औषधि अभाव भएको बताए। उनले नयाँ पत्रिकासँग भने, ‘म स्टोरको मान्छे त होइन, तर दसैँ–तिहारमा स्टोरकिपर गाउँ गएपछि मैले हेरिराखेको छु। करिब १५–२० प्रकारका औषधिको अभाव देखिएको छ।’
टेन्डर र कोटेसनमा जिल्ला स्वास्थ्य कार्यालयले ढिलाइ गरेपछि अस्पतालमा औषधि अभाव देखिएको उनले बताए।
जिल्ला अस्पताल हुम्लाको इमर्जेन्सी वार्डमा एरएल स्लाइनदेखि १० एमएल, तीन एमएल, पाँच एमएलका सिरिन्ज नभएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाकी निमित्त प्रमुख सरिता बोहराले जानकारी दिइन्।
‘म इमर्जेन्सी वार्डमा गइरहन्छु। अभाव भएपछि क्षेत्रीय स्टोर सुर्खेतमा ७२ थरीका औषधिका लागि माग फारम पठाइसकेकी छ,’ बोहराले भनिन्।
जिल्ला अस्पताल हुम्लामा औषधिको अभाव खड्किएपछि उपचार गर्न आउने बिरामी निजी मेडिकलबाट चर्को मूल्य तिरेर औषधि खान बाध्य छन्।



