ADVERTISEMENT
समाचार

राष्ट्रपति भण्डारीको कदम : मधेसमा एमालेलाई होला त हजम ?

ADVERTISEMENT
ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि त्यसको चौतर्फी आलोचना भइरहँदा मधेसमा विरोधका कार्यक्रम नै सुरु भएको छ । सीके राउत नेतृत्वका जनमत पार्टीलगायत अन्य दलहरुले मधेसमा राष्ट्रपति भण्डारीको विरोध गरिरहेका छन् ।

ADVERTISEMENT

राष्ट्रपति भण्डारीको कदमलाई नेकपा एमालेले समर्थन गरेको छ । राष्ट्रपतिले यो कदम एमालेकै सल्लाहमा चालेको अधिकांशको बुझाई छ । त्यही भएर तराई मधेसमा राष्ट्रपति भण्डारीका साथै एमालेको पनि विरोध भइरहेको छ । पछिल्लो समय एमालेले मधेससँग सम्बन्ध सुधारिसकेको थियो ।

सम्बन्ध सुध्रेकै कारण मधेस केन्द्रीत दलका थुप्रै नेताहरु एमालेमा प्रवेश गरे । एक समय एमालेका अध्यक्ष केपी शर्मालाई मधेसमा निषेध नै जस्तै थियो तर अहिले उनी महिनामा तीन पटकसम्म त्यहाँ जाने गरेका छन् । मधेसमा एमालेप्रति आकर्षण बढ्दै गइरहेको थियो । तर अहिलेको नागरिकता विधेयक प्रकरणले असर गर्ने देखिएको छ ।

सप्तरीका बुद्धिजीवी बलराम यादवका अनुसार राष्ट्रपति भण्डारीको कदमका कारण एमालेलाई पक्कै पनि मधेसमा प्रभाव पार्छ । किनकि ठाउँ ठाउँमा विरोध सुरु भइसकेको छ । तर विरोधका लागि मात्र एक दुई दिन विरोध गरेर छाडियो भने त्यसले चुनावमा खासै असर गर्दैन । यदि मधेसवादी दलले यसलाई आन्दोलनकै रुपमा अगाडि बढाए भने यसले चुनावमा एमालेलाई ठूलो असर गर्न सक्ने सम्भावना रहेको यादवले बताए ।

तर यो प्रकरणमा एमालेलाई फाइदा पनि हुन सक्ने यादवको अर्को तर्क पनि छ । उनले भने, ‘मधेसमा एमाले विरुद्ध आन्दोलन भयो भने त्यसमा उसले पहाडबाट फाइदा लिन्छ । विगतमा पनि त्यस्तै देखिएको हो, मधेसमा एमालेको जति विरोध हुन्,छ त्यसको फाइदा उसलाई पहाडमा त्यति नै हुन्छ । त्यही भएर एमालेले पनि चाहन्छ कि मधेसमा यसको विरोध होस् ।’

तर एमालेका केन्द्रीय सदस्य गंगाप्रसाद यादव (सिरहा) ले अहिलेको नागरिकता प्रकरणमा एमालेको विरोध गर्नुको कुनै तुक नरहेको बताए । यो राष्ट्रपतिसँग सम्बन्धित विषय हो, यसमा एमालेलाई जोडेर हेर्न नहुने बताउँदै उनले कोही विरोध गर्छन् भने त्यसले एमालेलाई कुनै फरक नपर्ने जिकिर गरे ।

कुनै पनि विषयमा पार्टीले आफ्नो मत राख्न सक्छ, नागरिकता विधेयकमा एमालेले आफ्नो धारणा राखेको हो तर यसलाई अन्य दलले राष्ट्रपतिसँग जोडेर विरोध गरिरहेको उनले टिप्पणी गरे । उनले भने, ‘एमालेलाई मधेसबाट बह्रार्न पटक पटक यस्ता भ्रम फैलाउने गरिएको छ तर जति घेराबन्दी गरेपनि मधेसमै एमाले सबैभन्दा बलियो संगठन बनेको छ ।’

मधेसमा एमालेको विरोध सुनियोजित रुपमा भइरहेको दावी गर्दै नेता यादवले यसलाई आफूहरु चिर्दै जाने र मधेसी जनतालाई वास्ताविकता बुझाउँदै जाने बताए । सीके राउत नेतृत्वको जनमत पार्टीले आज विहानै सिरहालगायत मधेसका विभिन्न जिल्लामा राष्ट्रपति भण्डारीको पुतला जलाएको छ । ठाउँ ठाउँमा अझै पनि विरोध भइरहेका छन् । यस आन्दोलनलाई निरन्तरता दिने सो पार्टीका महासचिव चन्दन सिंहले बताए ।

यता, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि आज जनकपुरलगायत विभिन्न ठाउँमा राष्ट्रपति भण्डारीको पुतला जलाउने कार्यक्रम राख्यो । लोसपा धनुषा जिल्ला अध्यक्ष प्रमेश्वर साहले राष्ट्रपति भण्डारीले चालेको कदमको विरुद्धमा आज जनकपुरमा प्रदर्शन, चक्काजामलगायत पुतला दहनको कार्यक्रम राखिएको बताए ।
नागरिक अगुवा भरत विमल यादवले मधेस केन्द्रीत दलहरुले एकजुट भएर राष्ट्रपति कदमको विरोध गर्नुपर्ने बताउँछन् । जबसम्म यी दलहरु आपसमा मिलेर आन्दोलन गर्दैनन्, तबसम्म यसको समस्या समाधान नहुने उनको भनाइ छ ।
संसदको सर्वोच्चतालाई सरकारले बरकरार राख्नुपर्ने बताउँदै उनले समयको दायराभित्र राष्ट्र«पतिबाट प्रमाणीकरण नहुने विधेयक संविधान तथा प्रतिनिधिसभा नियमावलीको मर्म र भावनाअनुसार स्वतः प्रमाणीकरण हुने हुँदा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी ऐनको रूप दिई कार्यान्वयनमा ल्याउन समेत सुझाउँछन् ।

नागरिक अगुवा यादवले भने, यसो नगरेर मौन बसेमा राष्ट्रपतिको वर्तमान असंवैधानिक कदमले वैधानिकता पाउने छ र भविष्यको लागि नजिरको रूपमा स्थापित हुनेछ । त्यसैले अधिनायकवादी कदम रोक्नैपर्छ ।’
मधेसवादी दलहरुले नागरिकता विधेयक प्रकरणलाई लिएर आन्दोलन गर्छन् जस्तो नागरिक अगुवा यादवलाई लाग्दैन । जब आन्दोलन हुँदैन, तबसम्म एमालेलाई कुनै प्रभाव नपर्ने उनको बुझाइ छ ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!