५ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट राज्य प्रणालीमाथि गम्भीर प्रहार भएको बताएका छन् । उनले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु भनेको संविधानको अपमान भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पौडेलले जननिर्वाचित संसदबाट अनुमोदनसहित प्रस्तावित विधेयकको प्रमाणीकरण गर्न संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएकाे दावी गरेका छन् ।

वरिष्ठ नेता पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीतिक प्रणालीलाई सिध्याउन खोजेको अरोप लगाएका छन् । पौडेलले संविधानको पालना र संरक्षण गर्नुपर्ने प्रमुख कर्तव्य भएको राष्ट्रपति संस्थाले संविधानले प्रष्ट रूपमा किटानी व्यवस्था गरेको धारा ११३ (५) उल्लंघन गरेको नजिर सदासर्वदा कायम रहनेछ भनेका छन् ।

उनले मुलुकले स्थापना गरेको गणतन्त्रात्मक प्रणालीको सर्वोच्च संस्थाले भावी दिनमा समेत संविधानको सोझो उल्लंघन गरेको आक्षेप बोकीरहनुपर्ने मात्र नभई इतिहासको एक खण्डमा यसकार्यको समीक्षासमेत हुने उल्लेख गरेका छन् । राष्ट्रपतिको यो निर्णयबाट तत्काल नागरिकताका पर्खाइमा बसेका केही लाख युवा निराश भएको भन्दै पौडेलले संवैधानिक नैतिकताका दृष्टिले समेत राष्ट्रपति संस्था अब राजनीतिक, कानुनी र सामाजिक रूपमा विवादमा तानिएको बताएका छन् ।

बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संबैधानिक निकायबाट हुनु व्यवस्था माथिको प्रहार भएको पौडेलको निष्कर्ष छ । उनले सामाजिक संजालमा लेखेका छन्, ‘जन निर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको छ । बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो । म यसको भर्तसना गर्दछु ।’

राष्ट्रपति भण्डारीले हिजोसम्म नागरिकता विधेयक प्रमाणीकरण गर्ने १५ दिनको समय गुजारेकी छन् । राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरेका थिए । त्यसपछि पुनः २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएका थिए । जुन हिजो राती १२ बजे भित्रमा प्रमाणीकरण हुनुपर्ने थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय