#सिरहाउत्खननकमला नदीमा

सिरहा । सिरहा र धनुषा जिल्लाको सीमा नदीको रुपमा रहेका कमला नदीबाट नदीजन्य सामग्री अवैध उत्खनन बन्द गर्नुपर्ने माग राख्दै सिरहामा प्रदर्शन गरिएको छ ।

स्थानीयहरुको सहभागितामा ‘सर्वदलीय संघर्ष समिति’ बनाएर अवैध उत्खनन रोक्न अभियान चलाएको उनीहरुले मंगलबार प्रदर्शन गरेका हुन् । संघर्ष समितिले पर्यावरण बचाउन जोड दिँदै सुरु गरेको अभियानमा कर्जन्हा नगरपालिकाका किसान, युवा, विद्यार्थी, राजनीतिक दलका स्थानीय अगुवालगायतको सहभागिता रहेको छ । अवैध रूपमा नदीजन्य सामग्रीको चोरी निकासी बन्द हुनुपर्ने, बेचन शर्माले सञ्चालन गरेको जेएन सप्लायर्सको स्टोरको उचित छानबिन गर्नुपर्ने, बाह्रै महिना कमला नदीको उत्तरबाहिनी नहर सञ्चालन गर्नुपर्ने, कमला नदीको ठेक्का बन्द हुनुपर्ने मागसहित संयुक्त संघर्ष समितिले प्रदर्शन गरेको हो ।

कमला नदीमा भइरहेको अवैध दोहन रोक्न आफूहरूले पटकपटक शान्तिपूर्ण आन्दोलन गरे पनि स्थानीय सरकार र प्रशासनले बेवास्ता गरेको संयुक्त संघर्ष समितिका संयोजक प्रभात महतोले बताए। माग पूरा गर्न चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलन केही दिन जारी राखेको भन्दै संयोजक महतोले ८ असोजमा बृहत् छलफल गरी अघि बढ्ने बताए ।

सम्झौता ८० हजार घनमिटर, उत्खनन तीन लाख ५९ हजार घनमिटर
सिराहाको कर्जन्हा नगरपालिकादेखि धनुषाको गणेशमान चारनाथ नगरपालिकासम्म पूर्व–पश्चिम राजमार्ग चारलेन बनाइरहेको चाइना रेल्वे कम्पनीले सम्झौताभन्दा अधिक उत्खनन गरेको संघर्ष समितिको दाबी छ। स्थानीय ठेकेदार बेचन शर्मा र स्थानीय प्रशासनको मिलोमतोमा करिब तीन लाख ५० हजार घनमिटरभन्दा बढी नदीजन्य सामग्री उत्खनन गरिएको संघर्ष समितिका संयोजक महतोले बताए। कम्पनीसँग ८० हजार घनमिटर नदीजन्य सामग्री उत्खनन गर्ने सम्झौता भएको थियो।

कर्जन्हा नगरपालिकाले ३१ साउन ०७९ मा जेएन सप्लायर्ससँग पाँच करोड ५५ लाख ८६ हजार रुपैयाँ तथा रेग्मी निर्माण सेवासँग एक करोड ५३ लाख ७० हजार दुई सयमा कमला नदीबाट नदीजन्य सामग्री उत्खनन गर्ने सम्झौता गरेको छ।
सम्झौताभन्दा बढी नदीजन्य सामग्री उत्खनन भइरहेकाले त्यसलाई रोक्न र पर्यावरण जोगाउन आफूहरू आन्दोलनमा उत्रिनुपरेको कर्जन्हा नगरपालिका– ३ का जितेन्द्र यादवले बताए। जिल्ला समन्वय समिति, जिल्ला प्रशासन तथा कर्जन्हा र गणेशमान चारनाथ नगरपालिकाले अवैध दोहन रोक्न प्रभावकारी काम नगरेको संघर्ष समितिको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय