अमेरिका र तालिबानले कैदी आदानप्रदान पूरा गरेका छन् । अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सन् २०२० मा अपहरण गरिएका अमेरिकी सैनिक मार्क फ्रेरिचसलाई हेरोइन तस्करीको आरोपमा अमेरिकामा १७ वर्षदेखि कैदमा राखिएका लडाकु एवं तालिबान सहयोगी बसर नुरजाईसँग साटासाट गरिएको बताएका छन् ।
‘आज, मार्क फ्रेरिचस अमेरिकालाई सुम्पियो र हाजी बसरलाई काबुल विमानस्थलमा हामीलाई सुम्पियो,’ मुत्ताकीले काबुलमा पत्रकारहरूसँगको कुराकानीमा भनेका छन् । आदानप्रदान लामो वार्तापछि सम्पन्न गरिएको मुत्ताकीले बताएका छन् । फ्रेरिचस अफगानिस्तामा निर्माण परियोजनामा सिभिल इन्जिनियरको रूपमा काम गरिरहेको वेला अपहरणमा परेका थिए ।




