आज संविधान दिवस मनाईंदैछ । नयाँ संविधान जारी भएको सात वर्ष पूरा भएर आठ वर्ष लागेको छ । सोही उपलक्ष्यमा अहिले टुँडिखेलमा परेडको आयोजना गरिएको छ ।
नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बलको परेडसँगै विभिन्न झाँकी प्रस्तुत गरिएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत संवैधानिक अंगका प्रमुख तथा उच्च पदस्थ सरकारी अधिकारीहरुको सहभागिता छ ।

विसं २०७२ असोज ३ गते संविधान जारी भएको उपलक्ष्यमा आजैका दिन हरेक वर्ष संविधान दिवस मनाउने गरिएको छ ।
नयाँ संविधान नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभामार्फत् निर्माण गरेका हुन् । संविधानमा जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्य लिइए पनि राजनीतिक दलका नेताहरुको क्रियाकलापले त्यसतर्फ कुनै संकेत गरेको देखिँदैन ।
संविधानमा लोकतान्त्रिक गणतन्त्र,संघीयता, धर्मनिरपेक्षता,स्वतन्त्रता र मानवअधिकार तथा समावेशी र समानतामा आधारित नेपाली समाजको विकास गर्ने भनिएको छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी मुलुकलाई समृद्ध बनाउने प्रतिवध्दता पनि छ ।
यसैबीच राष्ट्रपति भण्डारीले नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी,अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ भने असल चालचलन भएका २०३ र अन्य ४७८ जना कैदी बन्दीको बाँकी सजायँ मिनाहा गरी जेलबाट छाड्न स्वीकृति प्रदान गरिएको छ ।




