सिरहा । सरकारले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी १९ कैदीको बाँकी कैद मिनाहा गरेको छ ।
कैद मिनाहा भएका कैदीलाई आजै आफन्तको जिम्मा लगाएर घर पठाइने जिल्ला कारागार सिरहाका जेलर बबिता महतोले जानकारी दिएकीछिन् ।
उनका अनुसार यसरी कैद माफी पाउनेमा सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दाका ७ जना परेकाछन् । सवारी ज्यानसम्बन्धी मुद्दाका ३, डाँका मुद्दाका ३, कुटपिट अंगभंग मुद्दामा २, नबकजनी चोरी मुद्दामा २, बहुबिवाह र सरकारी सम्पति चोरी मुद्दामा एक÷एक जनाको कैद माफी गरिएको कारागार प्रमुख महतोले जानकारी दिए । असल आचरण देखाउनेलाई कारागारको सिफारिसका आधारमा छनोट गरेर यसरी आममाफी दिइएको हो । उनीहरु मध्ये १२ जना ५० प्रतिशत भन्दा बढी र ७ जना ४० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका कैदी हुन् ।

जिल्ला कारागार सिरहाले २४ जनालाई आममाफीका लागि सिफारिस गरेकामा १९ जनाले माफी पाएका हुन् ।
जिल्ला कारागार सिरहामा अहिले क्षमताभन्दा चार गुणा बढी कैदी र थुनुवा रहेका छन् । महतोका अनुसार कारागार सिरहाको क्षमता १५० जनाको रहेकोमा हाल कैदी, थुनुवा र आश्रित बालबालिका गरी ६७२ जना छन् । जसमा ६३५ जना पुरुष, ३४ जना महिला र आश्रित ३ बालबालिका गरी ६७२ जना छन् ।
कैदी र थुनुवाको चाप बढी भएकाले व्यवस्थापनमा कठिनाइ हुने गरेको कारागार सिरहाले जनाएको छ ।



