हुुम्ला असोज २ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीलगायत उच्च क्षेत्रमा हिमपात भएको छ । गत बुधबार रातीबाट लगातार परेको वर्षापछि हिमपात यस वर्षको पहिलो हिमपात भएको हो ।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमीमा शनिबार रातीबाट हिमपात भएको बताउनुुभयो । उहाँले शुक्रबार लाप्चा, न्यालुु लगाएका उच्च स्थानमा हिमपात भएको भए पनि रातीबाट ताक्ची, तुम्लिङ र लिमीका तीनवटै गाउँमा हिमपात भएको बताउनुुभयो ।

लिमीका गाउँ हिमपात पछि सेताम्मे देखिन थालेका छन् । उहाँले लिमीको गाउँमा चार इन्ची हिउँ जमेको र अहिले पनि हिउँ पर्ने क्रम जारी रहेको बताउनुुभयो । उहाँले चिसो भने निक्कै बढेको बताउनुुभयो ।
वर्षापछि हिउँ पर्न सुरु हुँदा पाक्नै लागेको बालीलाई समेत क्षति पुर्याएको उहाँले बताउनुुभयो । ताक्चीबाट लाप्चा गएर मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकहरु प्रभावित हुनुुभएको छ ।
त्यसैगरी, अग्ला पाटनमा पाल्दै आएका चौंरीलगायत पशुलाई समेत समस्या भएको छ । यो हिमपात उत्तरी हुम्लाका उच्च क्षेत्र सबैतिर परेको छ र सदरमुकाम सिमकोटका उच्च स्थानमा हिमपात भएको छ । यस वर्षको यो हिमपात पहिलो हो ।



