नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको गरी दस हजार बिभिन्न तहका नेता कार्यकर्ता भित्रयाउन नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गते गोलबजार नगरपालिका ८ जनता नमूना माध्यमिक विद्यालय चोहर्वाको जनजागरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेको नेकपा एमाले सिरहाले जनाएको छ ।
बुधवार गोलबजारमा आयोजित पत्रकार सम्मेलनमा नेकपा जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले एक विज्ञप्ति जारी गरी सञ्चारकर्मीहरुलाई जानकारी गराउनुभयो ।

सिरहाका १७ वटै पालिकाहरुबाट पचास हजार जनता उतार्ने, बिभिन्न पार्टीबाट आठ हजार प्रवेश गर्ने नेता कार्यकर्ताहरुको सुची तयार भैसकेको अध्यक्ष मण्डलले भन्दै प्रवेश गर्नेहरुको संख्या बढेर दस हजार पुग्ने दाबी गर्नुभयो ।
कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा मधेस प्रदेश सह इन्चार्ज लिलानाथ श्रेष्ठ्ले मधेस प्रदेशको साठी प्रतिशत सिट संघ र प्रदेशमा नेकपा एमाले जित्ने दाबी गर्नुभयो ।
नेता श्रेष्ठले भन्नुभयो, राष्ट्रवादी र राष्ट्रघाती कितामा मुलुक बिभाजित छ । एमाले राष्ट्रवादी किताको नेतृत्व गरेकोछ भने पाँच दलीय गठबन्धन राष्ट्रघाती कितामा उभिएको छ । जनताले राष्ट्रवादी र समृद्धिको पक्षधर नेकपा एमालेलाई जिताउन मुड बनाइ सकेकोले देशैभरी प्रवेशको लहर जारी छ ।
नव प्रवेशीहरुलाई पार्टीमा उचित व्यवस्थापन गर्न पार्टीले बिधि तय गरिसकेकोले योग्यता क्षमता अनुसार जिम्मेबारी दिइने नेकपा एमाले केन्द्रीय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले प्रष्टयाउनुभयो ।
पत्रकार समेलनमा सल्लाहकार कमिटिका केन्द्रीय सदस्य धर्मनाथ यादव, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नरेन्द्रराज पोखरेल, प्रदेश कमिटि सदस्य आशा यादव, जिल्ला कमिटि उपाध्यक्ष तथा सिरहा नगरपालिका मेयर डा नबिन कुमार यादव, जिल्ला कमिटि सचिव तथा भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादव, जिल्ला सह–सचिव तथा गोलबजार नगरपालिका मेयर श्याम श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।



