काठमाडौं महानगरपालिकाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ । अहिले कामपाले कानूनविपरीत निर्माण भएको सम्पूर्ण संरचना अवैध रहेकाले नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना भत्काउने काम निरन्तर गर्ने जनाएको हो ।
त्यसैगरी विगत दुई दिनमा कामपाले बालाजु नयाँ बसपार्क आसपास र कोटेश्वरमा गरी एक सय बढी कानूनविपरीत निर्माण भएका संरचना भत्काएको छ । आइतबार कोटेश्वर प्रहरीचौकी नजिकैको ५०भन्दा बढी अवैध संरचना भत्काइएको थियो भने सोमबार पनि बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५०भन्दा बढी अवैध संरचना भत्काइएको कामपाले जनाएको छ । यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भ¥याङ रहेको कामपाको भनाइ छ ।

अवैधरुपले बनाइएका संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउन ३५ दिने सूचना जारी गरिएको थियो । सार्वजनिक सूचना बेवास्ता गरेपछि ती संरचनामा डोजर चलाउन कामपा बाध्य भएको नगर प्रहरी पाण्डेको भनाइ थियो । अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधान हुनाका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ । ती सबैलाई कानूनी दायरामा ल्याउने तयारी छ ।
कामपाको ध्यान असनका फुटपाथ पसलतर्फ
अवैध संरचना हटाउन निरन्तर लागिरहेको कामपाको ध्यान आज असन र इन्द्रचोकमा अस्तव्यस्तरुपमा सञ्चालन भइरहेका पसलतर्फ गएको छ । अहिले यस क्षेत्रका फुटपाथको व्यापार हटाउने कामसँगै अव्यवस्थित हुने गरेको पार्किङ पनि व्यवस्थापन गर्ने काम भइरहेको नगर प्रहरी प्रमुख पाण्डेले बताए । सडकपेटीसम्म राखिएको केही सामग्री आज नै हटाए पनि फुटपाथमा राखेका भाँडाकुँडा, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्री भोलि बिहानसम्म हटाउन निर्देशन दिइएको उनको भनाइ थियो ।




