सिरहा,। नेपालमै सवैभन्दा ठूलो शुद्ध घ्यूको लड्डु सहित सिरहा नगरपालिका–१ महावीर चौकमा भगवान श्री गणेशको पूजापाठ भईरहेको छ । गणेश चर्तुदर्शीको दिनदेखि सुरु भएको गणेश मेला महोत्सव सोमवारसम्म चल्नेछ ।
यस मेलामा शुद्ध घ्यूमा बनेको बेसनको बुनियाको सिंगो ३ सय ८१ किलोको लड्डु बनाईएको छ । भगवान गणेशको आकर्षक प्रतिमासँगै सिंगो लड्डुका कारणले पनि ठूलो संख्यामा भक्तजन दर्शन गर्न पुग्ने गरेको छ । देशमै सवैभन्दा वढी किलोको लड्डु सहित पूजा अर्चना थालिएको गणेश मेला महोत्सव समितिका सदस्य शम्भू साहले बताएका छन् ।

गत वुधवारदेखि सुरु भएको मेला महोत्सवमा लड्डु हेर्न सिरहा, धनुषा र सिमावर्ती भारतीय गाउँबाट पचास हजार वढी श्रद्धालुभक्तजन आईपुगेको आयोजक समितिका अध्यक्ष किरण प्रधानाङले बताएका छन् ।
२०७६ मा सालमा ३ सय ११ किलोको सिंगो लड्डु सहित पूजापाठ गरिएपनि पछिल्लो दुई वर्ष कोरानो संक्रमणको कारणले गर्दा समान्य पूजापाठमै सिमित भएको थियो । ‘कोरोना संक्रमणको जटिलता न्यून रहेकोले यस वर्ष भव्य रुपमा मेला आयोजना गर्न सफल भयौं,’ अध्यक्ष प्रधानाङले भने,‘पहिलेको तुलनामा यस वर्ष ७० किलो वढी तौलको लड्डु बनाउन सफल भएका छौं ।’
ठूलो लड्डु बनाउन थालेपछि सिरहामा आन्तरीक पर्यटनको पनि संख्या वढ्न थालेको उनले बताए । ६ दिने मेला लगाउन स्थानीय आयोजकले स्थानीय स्तरबाट स्रोत जुटाएका छन् ।



