सिरहा । सिरहा जिल्लामा राष्ट्रिय परिचय पत्रमा नाम दर्ता गराउने गरी अभियानको सुरुवात गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहामा विहिवार आयोजित राष्ट्रिय परिचय पत्र सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया तथा समन्वय वैठकमा सिरहा जिल्लामा अभियानको रुपमा सुरु गर्न लागिएको जनाईएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले सिरहा जिल्लाको १७ वटै स्थानीय तहबाट राष्ट्रिय परिचय पत्रमा नाम दर्ता गर्नेगरी अभियान सुरु गर्न लागिएको बताएका छन् । अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा ४ र ईलाका प्रशासन कार्यालय लहानमा १ गरी पाँच वटा स्टेशनबाट नाम दर्ता भईरहेको भन्दै महानिर्देशक भट्टराईले जिल्लाको १७ वटै स्थानीय तहमा जनशक्ति परिचालन गरी नाम दर्ता गरिने बताएका छन् ।

सिरहा जिल्लामा ३३ हजार जनाको राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गरिसकिएको भन्दै उनले प्रदेश र संघको निर्वाचनपछि वडावडामा पनि अभियानलाई पुर्याएर नाम दर्ताको थालनी गर्ने बताएका छन् । राष्ट्रिय परिचयपत्रले अगामी दिनमा नागरिकता भन्दा वढी फाईदा मिल्ने भन्दै उनले यसको विश्वस्तरमा काम लाग्ने गरी परिचयपत्र वितरण गरिने बताएका छन् ।
कार्यक्रममा सहभागी सिरहा जिल्लाका विभिन्न स्थानीय तहहरुको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, पत्रकार, राजनीतिक दलका प्रतिनिधिहरुमध्ये कतिपयले सुरक्षाको विषयमा सवाल उठाएका थिए । त्यस्तै संकलन भईरहेको राष्ट्रिय परिचय पत्र वितरण कहिले हुने, लामो लाईन लाग्नुपर्ने बाध्यता हटाउन अभियानलाई व्यापकता दिनुपर्ने बताएका थिए । कार्यक्रममा सुखिपुर नगरपालिकाका प्रमुख रामऔतार यादव, गोलबजार नगरपालिकाका प्रमुख श्याम श्रेष्ठ, नरहा गाउँपालिकाका उपाध्यक्ष गुलावदेवी चौधरी लगायतले नागरिकता, राष्ट्रिय परिचयपत्रमा भईरहेको समस्यावारे प्रश्न उठाएका थिए ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको अध्यक्षतामा भएको समन्व्य वैठकमा विभागका निर्देशक लक्ष्मण ढकालले राष्ट्रिय परिचयपत्रको आवश्यकता र देशभर सञ्चालनमा रहेको अभियानको वारेमा चर्चा गरेका थिए । यस्तै प्रजिअ कवारीले नागरिकता र राष्ट्रिय परिचय पत्रको सम्बन्ध कुनै समस्या भएमा आफूले सहजीकरण गर्न तयार रहेको बताएका थिए ।



