#सिरहामेयर डा नविन कुमार यादवसिरहा नगरपमिलका

सिरहा । सिरहा नगरपालिकाको छैठों नगरसभा सम्पन्न भएको छ । सिरहा नगरपालिकाको सभाहलमा वुधवार सम्पन्न भएको नगरसभाले ९० करोड ३८ लाख रुपैयाँको बजेट पारित गरेको छ ।
सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवको अध्यक्षतामा बसेको नगरसभाको बैठकले चालू आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । चालू आर्थिक वर्षमा वडागत योजनाको लागि ७५/७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै पारित बजेटमा विषयगत कार्यालय तर्फ शिक्षामा ७० लाख, स्वास्थ्यमा २५ लाख, कृषिमा २५ लाख, पशु विकासमा २५ लाख, महिला बालबालिका तथा जेष्ठ नागरिक क्षेत्रमा १० लाख, न्यायिक समितितर्फ १० लाख, खेलकुद विकासतर्फ २५ लाख, सलहेश मन्दिर निर्माणतर्फ ५० लाख, कार्यपालिका सदस्य योजनाहरुमा १०/१० लाख, नगरस्तरीय योजनामा २ करोड ४७ लाख ९३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

सिरहा नगरपालिकाको उपप्रमुख वविता कुमार साहको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका थिए । चालू आर्थिक वर्षमा सिरहा नगरपालिकाले खेलकुद तर्फ राजा सलहेशको प्राचीन नगरी सिरहामा ‘सलहेश गोल्डकप अन्र्तराष्ट्रिय फुटबल’ प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।
नीति तथा कार्यक्रममा सिरहा नगरपालिकाको गुरु योजना निर्माण गरिने, यातायात गुरुयोजना निर्माण गरिने, मेटेरियल टेस्टिङ ल्याब स्थापना गरिने, युवा रोजगार कार्यक्रम गर्न ‘अपने मजदुर अपने मालिक’ कार्यक्रम सञ्चालन गरिने, शीत भण्डार स्थापना गरिने, पशु आहारको गुणस्तर नियमन गर्ने, स्थानीय सहकारीको क्षमता अभिवृद्धि गर्ने नीति लिएको छ ।
यस्तै नगरसभावाट आर्थिक विधेयक, २०७९, विनियोजन विधेयक, २०७९ स्वीकृत गरेको छ । पदाधिकारीलाई सुविधा ऐन २०७७ अनुसार सुविधा उपलब्ध गराउने लगायतको निर्णय नगरसभाले गरेको छ ।

नगरसभामा सिरहा नगरपालिकाका वडा नम्बर १ का वडाअध्यक्ष महेश कुमार यादव, वडा नम्बर २ का वडाअध्यक्ष राकेश कुमार यादव, वडा नम्बर ५ का वडाअध्यक्ष जागेश्वर यादव, वडा नम्बर ११ का वडाअध्यक्ष विनोद कुमार कामती, वडा नम्बर १२ का वडा अध्यक्ष शिवशंकर झा, वडा नम्बर १७ का वडाअध्यक्ष उमेश यादव, वडा नम्बर २० का वडाअध्यक्ष रामचन्द्र यादव र वडा नम्बर २२ का वडा अध्यक्ष जिवछ नारायण यादवले आफ्ना शुभकामना मन्त्वय राखेका थिए ।
नगरसभाबाट उपप्रमुख वविता कुमारी साहको संयोजकत्वमा वडा नम्बर १ का वडा अध्यक्ष महेश कुमार यादव र वडा नम्बर २ को वडाअध्यक्ष राकेश कुमार यादव सदस्य रह्ने गरी न्यायिक समिति गठन गरेको छ ।

नगरको विकास गर्न आफू तयार : मेयर डा यादव
नगरसभाको समापन गर्दे मेयर डा यादवले नगर विकासमा आफू सदैव सक्रिय भएर लाग्ने बताएका छन् । आफूले सवै वडालाई विशेष रुपमा ध्यान दिने भन्दै मेयर डा यादवले नगरपालिकालाई सफल बनाउन सवै वडा अध्यक्षहरुले सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् । वडावाट प्रदान गरिने सेवा सुविधाले जस/अपजस आफूलाई पनि मिल्ने भन्दै मेयर डा यादवले सबै वडालाई विशेष रुपमा निगरानी गरिने र नगरमा भएको समस्या सामाधानमा आफु तयार रह्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय