काठमाडौं । मंगलबार बिहान सत्ता गठबन्धनको बैठक चल्दै थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फर्काएपछिको घटनाक्रमबारे छलफलका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने, ‘अनैतिक काम हुन्छ यो । ओलीजी प्रधानमन्त्री भएका बेला अध्यादेशबाट तुरुन्तै लैजाने राष्ट्रपतिले अहिले वैधानिक बाटोबाट गएको विधेयक फिर्ता गर्नु अनौठो कुरा थियो । अब फेरि संसदले पास गरेपछि अड्किँदैन भन्ने लाग्छ ।’
गठबन्धनका नेताहरुले हो मा हो मिलाए । अरु विषयमा छलफल भयो । बैठक सकिएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दलका नेताहरुलाई इशारा गरे । अरु दलका नेताहरु हिँडेपछि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा भित्र पसे ।

उनीहरुसँग प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रपति राजीनामा दिन्छु भनिरहनु भएको छ । दिने मुडमै हुनुहुन्छ भन्ने बुझें मैले । अब के गर्ने ?’
खासमा देउवाले गठबन्धन बैठकमा जे कुरा खोलेर भन्न सकिरहेका थिएनन्, आफ्ना सहकर्मीहरुलाई चाहिँ सुनाएका थिए । देउवाको संक्षिप्त कुरा सकिँदा नसकिँदै रामचन्द्र पौडेलले भने, ‘उहाँलाई राजनीति गरेर पुगेको छैन भन्ने त थाहै थियो । एमालेमा ओलीपछिको नेता चाहिएको छ । बेला यही हो भन्ने उहाँहरुले ठाने जस्तो छ ।’
बैठकमा सहभागी कांग्रेसका एक शीर्ष नेताका अनुसार राष्ट्रपतिको सम्भावित राजीनामा कदमबारे देउवा केही तनावमा देखिन्थे । राष्ट्रपति भण्डारीको कार्यकाल सकिन लागेको, त्यसमाथि विगतदेखि नै दलीय राजनीतिको औजार बन्दै आएको नागरिकता विधेयकजस्तो संवेदनशील मुद्दामा राष्ट्रप्रमुख नै तानिने अवस्थामा यो मुद्दा आउँदो चुनावको सबैभन्दा गम्भीर सवाल बन्न सक्नेतर्फ कांग्रेस नेताहरुको ध्यान छ ।
‘हामीले एउटा कुुराबारे सोच्यौं, तर बुझ्न सकेनौं,’ ती नेताले अनलाइनखबरसँग भने, ‘संवैधानिक राष्ट्रपतिले त्यतिमात्रै गर्ने सुविधा हुन्छ, जुन संविधानले दिएको छ । तर, उहाँ किन अघि बढ्ने तयारीमा हुनुहुन्छ ?’
प्रधानमन्त्री देउवामा अपुष्ट र अमूर्त कुरा गर्ने स्वभाव नभएको भन्दै ती नेताले भण्डारीको सम्भावित कदमबारे थप संशय व्यक्त गरे ।
नेता पाैडेलले प्रधानमन्त्रीबाट आफूले राष्ट्रपतिकाे राजीनामा सम्भावनाबारे कुरा सुनेकाे पुष्टि गरे । ‘प्रधानमन्त्रीकाे कानमा याे कुरा आएको रहेछ भन्ने थाहा पायाैं । तर कुराे के हाे भन्ने बुझिँदै जाला । अलिकति हल्लाकाे रुपमा पनि आएकाे देखिन्छ । अरे–अरेका कुरा पनि हुन् जस्ताे लाग्छ,’ पाैडेलले भने, ‘चुनावी मसला बनाउन खाेजेकाे जस्ताे छ । तर त्यसाे गरेर उहाँहरुलाई के फाइदा ? नागरिकता विधेयक भनेकाे नागरिकहरुलाई नै नागरिकताकाे अधिकार दिने कुराे हाे । यसमा उहाँले वा कसैले राजनीति गर्न नखाेजे हुने हाे ।’
एमालेका एक उच्च नेताले राष्ट्रपतिबाट राजीनामाको परिस्थिति आएमा त्यो संविधानसम्मत नभई राजनीतिक निर्णय हुने भन्दै आलोचना गरे । हामीलाई राष्ट्रपतिले गर्नसक्ने संविधान र कानुनसम्मत प्रबन्धको मात्रै जानकारी छ । अरु निर्णय भएछ भने ती राजनीतिक निर्णय हुनेछन्, जसबारे हामी बोल्न सक्दैनौं ।’
आज बुधबार पनि गठबन्धनका दलहरुभित्र सम्भावित परिस्थितका सम्बन्धमा छलफल भएको ती नेताले भने । आज शीतल निवासमा राष्ट्रपतिबाट सुरक्षा अधिकृतहरुको आकस्मिक बैठक डाकियो, जसमा राष्ट्रपति भण्डारकिो सुरक्षामा खटिएका पूर्वअधिकारी पनि सामेल थिए । नेपाली सेनासहित सुरक्षा निकायका अधिकारीहरुलाई बोलाएर उनले भेट गरेकी हुन् । भेटमा के–के कुराकानी भयो भन्ने विस्तृत विवरण आएको छैन । यद्यपि, सुरक्षा सम्बद्ध स्रोतले भण्डारीले सुरक्षाकर्मीहरुलाई ‘धन्यवाद दिएको’ अपन दैनिकलाई बतायो ।
नेपाली सेनाको परमाधिपति समेत रहने राष्ट्रपतिको सुरक्षा व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्छ ।



