बुटवलको एक चर्चमा मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ । भिडिओमा होली क्यालभरी चर्चका पास्टर भनिने राजेन्द्र गोतामे देखिन्छन् । उनले भुइँमा सुतेकी ‘मृत’ भनिएकी महिलालाई उठेर सरासर हिँडेको देखाउन खोजेका छन् ।
पाश्चर गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै भनेको सुनिन्छ । भिडिओमा एक महिलाले ‘धामी र ५/६ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका कुरा बोलेको सुनिन्छ । इशुको नाममा विभिन्न भ्रम फैलाएको भन्दै बेलाबेला पास्चर पक्राउ पर्ने गरेका छन् ।

प्रहरीले उनीविरुद्ध धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै मुद्दा चलाइसकेको छ । फेरि झुटो प्रचार गरेको भन्दै प्रहरीले बुटवलको घटनाको अनुसन्धान सुरु गरेको छ ।
विज्ञानलाई चुनौती दिने खालको भिडिओ सार्वजनिक भएपछि प्रहरी र प्रशासनको ध्यानाकर्षण भएको छ । उक्त भिडिओ सार्वजनिक भएपछि प्रहरी प्रशासनले अनुसन्धान सुरु गरेको छ । रूपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार अनुसन्धान सुरु गर्न बुटवल प्रहरीलाई आदेश भइसकेको छ ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अप्रमाणित कुरा देखाएर समाजमा भ्रम छर्न नपाइने बताए । विज्ञापनलाई नै चुनौती दिने कुरा गर्न नमिल्ने प्रजिअ पाण्डेको भनाइ छ । ‘एकातिर धामीझाँक्री, बोक्सीलाई विश्वास नगरौं भनेर भन्छौं अर्कोतिर यस्तो अप्रमाणित कुरा देखाउने? यो त भएन,’ उनले भने ।




