नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपालमा चुनाव जित्नका लागि मानिसको हत्या गर्न पनि पछि नपर्ने प्रवृत्ति रहेको बताएका छन् । नेपाल युवा परिषदले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनमा उनले छिमेकी दाजुभाइकै हत्या गरेर भए पनि भोट खोस्ने प्रवृत्ति रहेको बताएका हुन् । त्यस्तो प्रवृत्तिको अन्त्यका लागि मतदान गर्ने तरिका परिवर्तन गर्नुपर्ने ओलीको भनाइ छ ।
‘छिमेकी दाजुभाइ छिमेकी दिदीबहिनाहरूलाई मारेर भोट जित्न खोज्ने प्रवृत्ति भएका ठाउँमा, यहाँ त्यस्तो धाँधली हुन्छ । विभिन्न देशमा विभिन्न प्रकारका भोटिङ सिस्टम छन् । त्यसमा गम्भीर कोइसनहरू उठेको छ,’ ओलीले भने, ‘हामी कोइसन नउठ्ने गरी सबै नेपाली नागरिकहरू मतदाताहरू जहाँ छन् उनीहरूले मतदान गर्न पाउने तर त्यो मतदान फेक भोटिङ नहोस् ।’

उनले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै ओलीले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए ।
‘सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन । हामीले हाम्रो सबै सम्पती सरकारको नाममा गरिदिएका छौं । तपाईँहरूलाई थाहा छदैछ होला सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न मिल्दैन । अब तपाईहरुले उपचार गराइदिनुभयो भने छुट्टै कुरा नभए मसँग उपचार गर्ने पैसा छैन,’ उनले भने ।
आफूले पार्टीमा परिवारवादलाई निरुत्साहित गरेको भन्दै उनले आफ्ना भाइ गाउँमा खेती किसानी गरेर बसिरहेको पनि बताए । ओलीले अहिलेको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई समस्याको रुपमा चित्रित गर्नु गलत भएको टिप्पणी पनि गरे ।



