काठमाडौं : प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरु आन्तरिक रणनीति बनाउन गृकार्यमा जुटेका छन्। सरकारले साउन १९ गते आम निर्वाचन घोषणा गरेपछि हप्ता दिन पछि दलहरु चुनाव केन्द्रित हुन थालेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बिहीवार सचिवालयको बैठकमा जुटेको छ। अपरान्ह १२ वजेदेखि सचिवालयको बैठक बोलाएर एमालेले चुनावी रणनीति तय गर्न लागेको हो। एमालेकी सचिव पद्मा अर्यालले सचिवालयको बैठकमा चुनावबारे छलफल हुने जानरकारी दिइन। आजको बैठकपछि एमालेले चाडै केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ। उक्त बैठकबाट चुनावको रणनीति र ऐजेण्डा बनाएर अघि बढने एमालेले बताएको छ। एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले एमाले एक्लै चुनावमा जाने गरी तयारी गरिरहेको बताएका छन्।

एमाले आजदेखि चुनावको बारेमा आन्तरिक छलफलमा जुट्दा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको भने सचिवालयको बैठक बुधवार नै बसेको थियो। उक्त बैठकले चुनावको घोषणा पत्र तयार पार्न नेताहरु गंगालाल तुलाधर,विजय पौडेल र प्रकाश ज्वालालाई जिम्मेवारी दिएको छ। उम्मेदवार छनोट मापदण्ड बनाउन महासचिव वेदुराम भुसाललाई दिने निर्णय पनि बैठकले गरेको थियो।
त्यस्तै सत्ता गठबन्धन पनि चुनावको तयारीमा छ। चुनाव घोषणा भएकै भोलिपल्टै साउन २० गते सत्ता गठबन्धनको बैठक बसेको थियो। उक्त बैठकले टिकट बाँडन कार्यदल बनाएको थियो। कार्यदलको दोस्रो बैठक आज दिउँसो बालुवाटारमा बस्दै छ।
दलहरुले चुनावको मिति घोषणा भएपछि आन्तरिक तयारीसँगै तालमेलका लागि पनि गृहकार्य अघि बढाएका हुन्। एमालेले पनि कुनै ठाउँ विषेशमा तालमेल हुन सक्ने बताएको छ। सत्ता गठबन्धनमा ल्याउनका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपासँग पछिल्लो समय संवाद गरिरहेका छन्। यस्तै वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पनि चुनावको रणनीति तयार गरिरहेको छ। जनता समाजवादी पार्टि नेपाल,जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी (नेसपा)बनाएका बाबुराम भट्टराईले पनि आफू गठबन्धनमै रहेको बताइरहेका छन्।
यस्तै दलहरुले आफ्ना गतिविधिलाई पनि चुनाव केन्द्रित गर्दै छन्। एमालेले भदौ २ गते देखि सुरु हुने प्रशिक्षणलाई पनि चुनाव केन्द्रित गर्ने जनाएको छ।
यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा प्रचण्ड जापानको भ्रमणका जाने भए पछि माओवादी केन्द्रका प्रदेशस्तरीय कार्यक्रमहरु रोकिएका थिए। प्रचण्ड बिहीवार स्वेदेश फिर्ता भइसकेका छन्। अब स्थायी कमिटी राखेर चुनावको रणनीति बनाउने माओवादी केन्द्रले तयारी गरिरहेको छ। माओवादी केन्द्रले हालसम्म पदाधिकारीलाई पूर्णता दिन सकेको छैन्। असार १९ गते बसेको केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिइएको थियो भने पोलिटव्युरोको नाम प्रस्ताव गरिएको थियो। पदाधिकारीको चयनका लागि आफूलाई केहि समय दिन प्रचण्डले माग गरेका थिए। माओवादीले अब प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै पदाधिकारी चयन गर्ने बताइन्छ।



