प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा सामान्य छलफल पछि महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएको हो ।

महाभियोग सिफारिस समितिमा पठाइएसँगै यसको दिनगन्ती शुरू भएको छ । महाभियोग सिफारिस समितिमा पठाइएको तीन महिनाभित्र यसको टुंगो लाग्नु पर्नेछ ।

पदीय आचरणअनुसारको काम नगरेको, न्यायालयमा भ्रष्टाचार र विकृति भित्र्याएको आरोपसहित सत्ता गठबन्धनले चोलेन्द्रविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधि सभामा प्रस्ताव दर्ता गरेका थिए ।

सोही महिनाको २९ गते प्रतिनिधि सभाले महाभियोग सिफारिस समिति गठन गरेको थियो । सिफारिस समितिमा नेकपा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल सदस्य छन् । यस्तै कांग्रेसको तर्फबाट मीन विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रको तर्फबाट यसोदा गुरुङ सुवेदी र रेखा शर्मा सदस्य छन् । नेकपा एसबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह र लोसपाबाट एकवाल मिया सदस्य छन् ।

महाभियोग सिफारिस समितिमा पठाइनुअघि आइतवार प्रतिनिधि सभामा भएको छलफलमा सत्तापक्षका सांसदहरूले महाभियोगको बचाउ गरेका थिए । एमालेले भने चोलेन्द्रविरुद्ध प्रतिशोध साँध्नका लागि महाभियोग दर्ता गरेर लामो समय अलपत्र पारिएको आरोप लगाएका थिए ।

चोलेन्द्रविरुद्धको महाभियोग सिफारिस समितिमा पठाएसँगै प्रतिनिधि सभा बैठक मंगलवारसम्मको लागि स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय