सिरहा । सिरहा जिल्लाका १६ पालिकाको बेरुजु रकम ५ अर्ब भन्दा वढी रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको स्थानीय तहको बेरुजुमा सिरहा जिल्लाका १६ पालिकाको अहिलेसम्मको बेरुजु रकम ५ अर्ब १३ करोड २७ लाख ७३ हजार रहेको जनाएको छ ।
सवैभन्दा वढी बेरुजु सिरहा नगरपालिकाको रहेको छ । सिरहा नगरपालिकाको गत आर्थिक वर्ष २०७७/०७८ सम्ममा ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ बेरुजी देखिएको महालेखाले जनाएको छ । सिरहा जिल्लामा सवैभन्दा कम बेरुजु भगवानपुर गाउँपालिकाको रहेको छ । आर्थिक वर्ष २०७७/०७८ सम्ममा भगवानपुर गाउँपालिकाको कूल बेरुजु १० करोड ६७ लाख ५९ हजार रहेको छ ।

यस्तै सिरहा जिल्लाका १७ मध्ये १६ स्थानीय तहमा आर्थिक वर्ष २०७७/०७८ मा पौने २ अर्ब बेरुजु रकम थपिएको छ । महालेखा प्रतिवेदन अनुसार सिरहा जिल्लाका १६ स्थानीय तहमा आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ७१ करोड ४३ लाख ९३ हजार रुपैयाँ बेरुजु थपिएको हो । सवैभन्दा वढी लहान नगरपालिकामा २५ करोड ८६ लाख १६ हजार र सवैभन्दा कम बरियारपट्टी गाउँपालिकामा ३ करोड ८ लाख २२ हजार रुपैयाँ बेरुजु थपिएको छ ।
यस्तै महालेखा प्रतिवेदन अनुसार सिरहाको १६ स्थानीय तहले कूल बेरुजुमध्ये करिब १६ करोड रुपैयाँ असुली गर्नुपर्ने उल्लेख गरेको छ । आर्थिक वर्ष २०७७/०७८ सम्ममा सिरहा जिल्लाका १६ स्थानीय तहले विभिन्न व्यक्ति, संस्था, उपभोक्ता समिति, निर्माण व्यवसायी, कर्मचारी, पदाधिकारीहरुबाट १५ करोड ९२ लाख ९५ हजार रुपैयाँ असुली गर्नुपर्न महालेखाले जनाएको छ । जसमा सवैभन्दा वढी असुली लहान नगरपालिकाले २ करोड ९३ लाख ५१ हजार, मिर्चैया नगरपालिकाले २ करोड १८ लाख ६२ हजार, विष्णुपुर गाउँपालिकाले १ करोड १७ लाख ५८ हजार, कर्जन्हा नगरपालिकाले १ करोड १० लाख ५ हजार, सिरहा नगरपालिकाले ९६ लाख ४८ हजार र बरियारपट्टी गाउँपालिकाले ९० लाख ८ हजार, लक्ष्मीपुर पतारी गाउँपालिकाले ७५ लाख ८७ हजार र सुखिपुर नगरपालिकाले ७२ लाख ६ हजार रुपैयाँ असुली गर्नुपर्ने महालेखाले जनाएको छ ।
यता महालेखाले सिरहाको नवराजपुर गाउँपालिको प्रतिवेदन सार्वजनिक गरेको छैन् ।




