
जनकपुरधामको फुटपाथ कब्जा गरी लगाइएका खुद्रा पसल हटाइएपछि व्यापारीहरूले जानकी मन्दिर परिसरमै बजार लगाएका छन्।
करौडौं खर्च गरेर सौन्दर्यकरण गरिएको मन्दिरको प्राङ्गणमै उनीहरूले बजार लगाएपछि स्थानीयले विरोध जनाएका छन्।

आस्थाको केन्द्र मन्दिर परिसरमा जथाभावी बजार लगाएपछि दर्शनार्थीलाई समस्या हुनुका साथै कुरूप पनि देखिएको भन्दै स्थानीयले विरोध गरेका हुन्।
‘जथाभावी बजार लगाउन मन्दिरको सौन्दर्यकरणमा करोडौं रुपैयाँ खर्चिएको होइन नि ! प्रसाद, फूलमाला, श्रृंगार बेच्ने खुद्रा व्यवसायीलाई बजार लगाउन उपमहानगरपालिकाले ठाउँको व्यवस्था गर्नुपर्यो, ’ स्थानीय सुशील कर्णले भने।
जनकपुरधाम उपमहानगरले फुटपाथबाट हटाइदिएपछि गुजारा चलाउन आफूहरू मन्दिर परिसरमा बजार लगाएको व्यवसायीहरूको भनाइ छ।
व्यवसायीबाट बट्टी उठाउन ठेकेदार र मन्दिरका उत्तराधिकारी महन्तराम रोशन दासले ती व्यवसायीलाई मन्दिरमा बजार लगाउन दिएको स्थानीयको आरोप छ। यद्यपि मन्दिरले भने आफूहरूले बजार लगाउन दिएको अस्वीकार गरिरहेको छ।
‘मन्दिरमा दर्शनार्थी पूजाआजा गर्न आउँछन्। उनीहरूलाई फूलमाला र प्रसाद चाहिने नै भयो। फुटपाथबाट व्यवसायीलाई हटाइदिएपछि कहाँ जाने? भगाउन पनि मिलेन। मन्दिर नजिकै उनीहरूलाई उपमहानगरपालिकाले ठाउँ दिनुपर्यो नि?,’ उत्तराधिकारी महन्त दासनिकट एक बाबाले भने।
मन्दिर प्रशासनले व्यवसायीलाई जथाभावी बजार लगाउन दिएपछि उपमहानगरपालिकाले पनि आपत्ति जनाएको छ।
‘मन्दिर परिसरमा पसलहरू सञ्चालन हुँदा मन्दिरमा आउने दर्शनार्थीहरूलाई समस्या हुने भएकोले मन्दिर परिसरमा हुने व्यापार व्यवसायको नगरपालिकाले घोर विरोध गर्दछ। उक्त पसल हटाउने पहल समेत गर्नेछ,’ उपमहानगरपालिकाले आधिकारिक फेसबुक पेजमा लेखेको छ, ‘मन्दिरमा दर्शन गर्न तथा मन्दिरको सुन्दरतामा आँच आउन नदिन दर्शनार्थीहरूलाई सहजता प्रदान गर्न जनकपुरधाम उपमहानगरपालिका कटिबद्ध रहेको छ र रहने छ।’
मन्दिरमा मेयरले नै बजार लगाउन निर्देशन दिएको भनि षड्यन्त्रपूर्वक प्रचार गरिएको मेयर मनोज साहले बताए।
‘श्रृंगारको सामान अरू ठाउँमा गएर पनि बेच्न सकिन्छ जरूरी छैन नि ती व्यवसाय मन्दिरमै गर्नुपर्छ। प्रसाद र फूलमाला पसलमात्र मन्दिर छेउमा जरूरी छ तर यसको मतलब यो होइन कि फुटपाथमा बेच्ने कि मन्दिरमै बजार लगाउने,’ उनले भने, ‘उनीहरूलाई व्यवस्थित गर्न हामी ठाउँ खोजी गर्दैछौं। छिट्टै उचित ठाउँमा बजार लगाउन भन्छौं।’
ट्राफिक व्यवस्थापनका लागि केहीदिनयता उपमहानगरापलिकाले फुटपाथ खाली गराउने अभियान थालेको मेयर साहको भनाइ छ।