सिरहा । स्थानीय निर्वाचन सम्पन्न भएको अढाई महिना पुग्न लागेको छ । स्थानीय निर्वाचन सम्पन्न भएपनि निर्वाचित जनप्रतिनिधिहरुले अझैं खर्च विवरण बुझाएको छैन् । निर्वाचन कानून अनुसार निर्वाचनमा उम्मेदवारी दिनेहरुले निर्वाचनको क्रममा गरेको खर्चको विवरण बुझाउनु पर्ने हुन्छ ।
१७ वटा स्थानीय तहमा ४ हजार ९८६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराएकामध्ये ५ सय ८० जनाले मात्र खर्च विवरण जिल्ला निर्वाचन कार्यालय सिरहामा बुझाएको छ । जिल्ला निर्वाचन कार्यालय सिरहाको तथ्यांक अनुसार कर्जन्हा नगरपालिका, सुखिपुर नगरपालिका, औरही गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकामा निर्वाचित भएकामध्ये एक जनाले पनि खर्च विवरण पेश गरेको छैन् ।
निर्वाचितमध्ये सिरहा नगरपालिकाका ६३, लहान नगरपालिकाका ६५, कल्याणपुर नगरपालिका ६, मिर्चैया नगरपालिका ५, धनगढीमाई नगरपालिका ५२, गोलबजार नगरपालिका १०, बरियारपट्टी गाउँपालिका ८, अर्नामा गाउँपालिका २३, भगवानपुर गाउँपालिका १, विष्णुपुर गाउँपालिका १, नरहा गाउँपालिका १९, नवराजपुर गाउँपालिका २७, सखुवानन्कारकट्टी गाउँपालिकाका १ जना निर्वाचित जनप्रतिनिधिले मात्र खर्च विवरण बुझाएका छन् ।

निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमा कस कसले खर्च विवरण बुझाएनन्
खर्च विवरण नबुझाउनेमा मिर्चैया नगरपालिका प्रमुख श्रवण कुमार यादव, उपप्रमुख जिवछी देवी साह, सुखिपुर नगरपालिका प्रमुख रामऔतार यादव, उपप्रमुख रेनु देवी साह, कर्जन्हा नगरपालिका प्रमुख भोला प्रसाद पोखरेल, उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठ, औरही गाउँपालिका अध्यक्ष शिवजी यादव, उपाध्यक्ष रेणु कुमारी यादव, गोलबजार नगरपालिका प्रमुख श्याम श्रेष्ठ, बरियारपट्टी गाउँपालिका उपाध्यक्ष ममता कुमारी यादव, भगवानपुर गाउँपालिका उपाध्यक्ष रेखा कुमारी यादव, लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर, उपाध्यक्ष अमर कला यादव, विष्णुपुर गाउँपालिका उपाध्क्ष गिता कुमारी सिंह, सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले खर्च विवरण नबुझाएको निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले बताएकी छिन् ।
सिरहा जिल्लाका १७ स्थानीय तहमा १ सय ६४ वडा रहेको छ । १ सय ६४ वडा अध्यक्षमध्ये अधिकांसले खर्च विवरण बुझाएका छैन् । जसको प्रत्यक्ष उदाहरण सुखिपुर नगरपालिका, कर्जन्हा नगरपालिका, औरही गाउँपालिका, लक्ष्मीपुर पतारी गाउपालिका रहेको छ । सुखिपुरमा १०, कर्जन्हामा ११, लक्ष्मीपुरपतारीमा ६, औरहीमा ५ वडा गरी ३२ वडा रहेका छन् । यी चारवटा स्थानीय तहमा आठ जना प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र ३२ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । तर कसैले निर्वाचन खर्च बुझाएका छैनन् ।
खर्च विवरण बुझाउन आयोगको ताकेता
निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारले खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न मातहतको कार्यालयलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन र नियमावली अनुसार परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारले खर्च विवरण बुझाउनु पर्ने हुन्छ ।
गत असार ८ मा निर्वाचन आयोगका प्रवक्ता समेत रहेका सहसचिव शालिग्राम शर्मा पौडेलले हस्ताक्षर गरेको पत्रमा,‘हालसम्म सम्बन्धित उम्मेदवारले कानुन बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण बुझाए÷नबुझाएको एकिन गरी निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको विवरण छुट्टै तयार गरी आवश्यक कारबाहीको लागि सिफारिससहित आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।’
जिल्ला निर्वाचन कार्यालय सिरहाले पनि खर्च विवरण बुझाएका र नबुझाएका उम्मेदवारहरुको विवरण आयोगलाई पठाईसकेको छ ।



