सिरहा । सिरहा प्रहरीले बाबु छोरा हत्या अभियोगमा बुहारी सहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सिरहाको अर्नमा गाउँपालिका १ महनौरका ६० वर्षिय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षिय छोरा सन्त कुमार पालको हत्यामा संलग्न रहेको अभियोगमा मृतक चन्देश्वरका साँइली बुहारी शान्तिदेवी पाल, गोलबजार नगरपालिका ४ का ६५ वर्षिय बेचु पाल, अर्नमा गाउँपालिका १ महनौरकै ४८ वर्षिय जनिफ मियाँलाई मंगलबार पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
उनीहरुको यही जेठ ८ गते विहान करिब १ः३० बजेको आसपासमा खुकुरी प्रहार गरी हत्या भएको थियो । उनीहरुको घाँटी र टाउकोमा खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको थियो ।
व्यक्तिगत रिसिविका कारण बाबु छोराको हत्या गरेको अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अर्जुन प्रसाद तिमिलसिन्हाले बताएकाछन् ।
सन्त कुमारको यहि जेष्ठ ११ गते मोरङका एक युवतीसँग विवाह छिनेको थियो । विवाहको तयारी भईरहेको समयमा हत्या भएकाले त्यसैलाई आधार बनाएर अनुसनधान गर्दा घटनामा संलग्नहरुसम्म पुगिएको एसपी तिम्सिनाले बताए ।
‘सन्त कुमारको विवाहको तीन दिन अघि हत्या भएकाले विवाहकै विषयमा खोज तलास गर्यौं; त्यही अनुसन्धानले हामीलाई हत्यामा सम्लग्नहरुसम्म पु¥र्यायो ।’ उनले भने, ‘सन्त कुमारको जो युवतीसँग विवाह तय भएको थियो, उनीसँगै बेचु पालको छोराको विवाह हुने पक्का भएको थियो । बेचुको छोरालाई विवाह गरेबापत केटीपक्षले विराटनगरमा जमिन दिने र सो जमिनमा घर समेत बनाई दिने भएका थिए । आवश्यक परे व्यवसाय गर्न पुँजी समेत दिने पक्का भएपनि छोराले युवतीको पहिला पनि विवाह भएकाले अस्वीकार गरे पछि सन्त कुमारसँग विवाह तय भएको थियो ।’

छोरालाई मनाई रहेकै वेलामा सन्त कुमारले विवाह गर्ने भएपछि त्यसैको रिसिविका कारण सन्त कुमारका भाउजु र जनिफको मिलेमत्तोमा हत्या भएको प्रहरीको भनाई रहेको छ ।
शान्तिदेवीको सासु ससुरासँग राम्रो सम्वन्ध नरहेको, अंस नदिएको, माईतिबाट ल्याएको चाँदीको गहना पनि सासुले राखेको र देवको विवाहमा पनि तिम्रो चरित्रका कारण तिमी आए गाउँले छोराको विवाहमा नआउने भनेकाले नआउनु भनेपछि उनीपनि रिसाएका थिए । जानिफ शान्तिदेवीको श्रीमानको साथी हुन् । शान्तिदेवीका श्रीमान रोजगारीको लागि विदेशमा छन् ।
यहि कुरा बेचुले थाहापाएपछि उनीहरुको हत्या गर्ने योजना बनेको प्रहरीको भनाई रहेको छ । सासु ससुरासँग रिसाएका शान्तिदेवीले हत्या गरेबापत ५० हजार दिने, हत्यागर्न जानिफले बञ्चरो ल्याउने र खुकुरी बेचु आफैले ल्याउन सल्ह अनुसार हत्या भएको बताइएको छ ।
तर, हत्या गर्ने राति योजना अनुसार शान्ति र जानिफ नआएपनि बेचन एक्लै आएर हत्या गरेको प्रहरीको भनाई रहेको छ ।
हत्या भएको राती बेचु झोला बोकेर घटनास्थल आसपास देखिएको स्थानीले समेत बताएको प्रहरीले जनाए । बेचु अवकास प्राप्त शिक्षक रहको बताइएको छ ।
हत्या भएको राति करिव १२ बजे सम्म विवाहको गित गाउने कार्य भईरहेको थियो । स्थानीयका अनुसार राती करिव १२ बजे सम्म गीत बजि रहेको थियो, विहान पख करिव ३ बजे हत्याको घटना गाउँ भरी फैलि सकेको बताउँछन् ।
प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा दर्जनबढी व्यक्तिहरुलाई पटक पटक सोधपुछ गर्ने गरेको भएपनि मंगलबार विहान तीनजलाई नियन्त्रणमा लिएको बताएको छ ।
प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी एक थान, मोवाईल चार थान सहितका सामाग्री बरामद गरेको छ ।
प्रहरी तालिम प्राप्त कुकुर, अन्य प्राविधिक डेटा अनुसन्धानबाट अपराधीसम्म पुग्न सफल भएको बताउँछन् । पक्राउ परेका उनीहरुलाई ज्यान मुद्दा दर्ता गराई आवश्यक अनुसन्धानको लागि ७ दिनको म्याद थप गरीएको छ ।



