दुर्घटनामा ५० वर्षीय बसन्त महराको मृत्यु, धनगढीमाईबाट चालक पक्राउ
सिरहा । सिरहाको गोलबजारमा साइकल यात्रुलाई ठक्कर दिएर फरार भएका स्कर्पियो चालकलाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ । दुर्घटनामा गम्भीर घाइते भएका साइकल यात्रीको उपचारका क्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर ८ गते साँझ करिब ६ः५५ बजे गोलबजार नगरपालिका–४, निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर प्लेट नखुलेको सिल्भर रंगको स्कर्पियोले साइकलमा सवार बसन्त महरालाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका करिब ५० वर्षीय महरालाई गोलबजार हेल्थकेयरमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार चालक र सवारीसाधनको खोजी गर्ने क्रममा प्रहरीले अनुसन्धानबाट स्कर्पियोको पहिचान गरेको थियो । सोही क्रममा मंसिर १० गते बिहान करिब १०ः५० बजे धनगढीमाई नगरपालिका–९, जिरोमाइलस्थित एक घरमा लुकिछिपी बसेको अवस्थामा चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–४, बाह्रबिघा निवासी करिब ४२ वर्षीय बिहारी महरा रहेका छन् । उनलाई बा.प्र.०१–०२५ च ७३९६ नम्बरको स्कर्पियोसहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका चालक र स्कर्पियोलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले जानकारी दिए ।





