भूमिहीन, सुकुम्बासी तथा दलित समुदायसँग प्रत्यक्ष भेटघाट गर्ने, जग्गा र आवाससम्बन्धी समस्या बुझ्ने
सिरहा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल आज (शुक्रबार) मधेश प्रदेशका तीन जिल्ला भ्रमणमा आउने भएकी छन् ।
मन्त्री रावलले भ्रमणका क्रममा धनुषा, सिरहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालय तथा भूमि प्रशासन कार्यालयका प्रमुख एवं पदाधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा मन्त्री रावल भूमिहीन, सुकुम्बासी तथा दलित समुदायका बस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ । विशेषगरी मुसहर बस्तीमा पुगेर त्यहाँका नागरिकले भोग्दै आएका जग्गा, आवासलगायतका समस्याबारे जानकारी लिनेछिन् ।
अन्तरक्रियाका क्रममा मन्त्रालयबाट हालसम्म भएका काम, समस्या समाधानका लागि अघि बढाइएका प्रयास तथा आगामी योजनाबारे जानकारी गराइनेछ । साथै, स्थानीय नागरिकका गुनासा सुन्ने र तिनको सम्बोधनका उपायबारे छलफल गरिने जनाइएको छ ।
मन्त्रीको यस भ्रमणलाई भूमिहीन तथा सुकुम्बासी समुदायका समस्या प्रत्यक्ष रूपमा सरकारसमक्ष राख्ने अवसरका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय