सिरहा । सिरहाको मिर्चैया नगरपालिका–३ बलुवा टोलस्थित सडकखण्डबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । मोटरसाइकलमा सवार तीन जनामध्ये एक जना भने फरार भएका छन् ।
मंसिर ९ गते बुधबार राति करिब १०ः३५ बजे इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले बलुवाबाट मिर्चैयातर्फ आउँदै गरेको प्रदेश २–०२–०१० प ३९८१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्न खोजेको थियो । प्रहरी टोलीलाई देखेपछि मोटरसाइकलमा सवार तीन जनामध्ये एक जना फरार भएका थिए भने अन्य दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–९ का १८ वर्षीय रजनिश यादव र सिरहाको मिर्चैया नगरपालिका–११ का २० वर्षीय नितेशकुमार साह रहेका छन् । फरार हुनेमा सिरहाको कल्याणपुर नगरपालिका–४ का २० वर्षीय काशिन्द्र साह रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा पछाडि सवार नितेशकुमार साहको साथमा रहेको पहेँलो प्लास्टिकको पोका जाँच गर्दा ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको थियो । उक्त पदार्थ प्लास्टिकसहित तौल गर्दा २४.११० ग्राम र प्लास्टिकबाहेक २१.०५ ग्राम रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद पदार्थ र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान भइरहेको छ । फरार काशिन्द्र साहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका छन् ।





