सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ ।
मंगलबार बिहान करिब ८ बजे दुर्गापुरस्थित लक्ष्मी मन्दिर नजिकै बाटो काट्ने क्रममा स्थानीय रामदयाल यादवका छोरा आयनस यादवलाई गोलबजारबाट दुर्गापुरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ६८५६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा शरीरका विभिन्न भागमा चोट लागेका बालकलाई उपचारका लागि लाइफ लङ हेल्थ केयर गोलबजार लगिएको थियो । अस्पतालमा इसिजी जाँचपछि चिकित्सकले बिहान ८ः३० बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता नरेश लिम्बुले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनापछि मोटरसाइकल घटनास्थलमै रहे पनि चालक भने फरार भएका छन् । चालकको नाम, थर र ठेगाना तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान तथा फरार चालकको खोजी र पहिचानका लागि प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय