‘स्मार्ट ड्रीम म्युनिसिपालिटी’ परियोजनाले जित्यो पहिलो स्थान

सिरहा । माउन्ट एभरेस्ट बोर्डिङ स्कुल, सिरहा–७ का विद्यार्थीहरूले विज्ञान तथा प्रविधि प्रदर्शनीमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्।

मोहन माध्यमिक विद्यालय, मिर्चैयाको आयोजनामा तथा मिर्चैया नगरपालिकाको सहयोगमा आयोजित विज्ञान तथा प्रविधि प्रदर्शनीमा माउन्ट एभरेस्ट बोर्डिङ स्कुलका विद्यार्थीहरूले प्रस्तुत गरेको ‘Smart Dream Municipality’ परियोजना प्रथम भएको हो।
स्थानीय तहको सेवा प्रवाहलाई आधुनिक प्रविधिसँग जोड्दै स्मार्ट नगरपालिकाको अवधारणामा तयार पारिएको उक्त परियोजनामा AI Cross Border Identification System, AI Waste Segregation System, AI Drowsiness System, AI Water Flow Monitoring System, AI Water Irrigation System, Earthquake Detection तथा Two-way Traffic Light with Barrier लगायतका प्रविधि समावेश गरिएको थियो।

विद्यार्थीहरूले तयार पारेको परियोजनाले प्रदर्शनीमा सहभागी निर्णायक तथा दर्शकहरूको समेत ध्यान आकर्षित गरेको थियो। नवीन प्रविधिको प्रयोग, सिर्जनशीलता र व्यावहारिक समाधानलाई आधार मान्दै परियोजना उत्कृष्ट ठहरिएपछि माउन्ट एभरेस्ट बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको विद्यालयले जनाएको छ।

विद्यालयले यो उपलब्धिलाई विद्यार्थीहरूको प्रतिभा, मेहनत र सिर्जनशीलताको परिणाम भएको जनाएको छ। उपलब्धिका लागि प्रतिभाशाली विद्यार्थी, शिक्षक तथा सम्पूर्ण माउन्ट एभरेस्ट परिवारलाई बधाई दिँदै विद्यालयले आगामी दिनमा पनि विद्यार्थीमा वैज्ञानिक सोच, अनुसन्धानात्मक क्षमता र प्रविधिमैत्री सीप विकास गर्ने गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


विद्यालयका अनुसार यस्ता विज्ञान तथा प्रविधिसम्बन्धी गतिविधिले विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानलाई व्यवहारमा उतार्न तथा नयाँ प्रविधिको खोज र प्रयोगतर्फ प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय