सिरहा । सिरहाको औरही गाउँपालिका–४ इट्टाटारस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५७ किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेक्वा सिरहाका गणपति सशस्त्र प्रहरी निरीक्षक सुमनजंग थापा क्षेत्रीका अनुसार बुधबार बिहान करिब १ः३५ बजे नेपालबाट अवैध रूपमा गाँजा बोकेर भारततर्फ लैजाँदै गरेका व्यक्तिहरूले गस्ती टोलीलाई देखेपछि गाँजा छाडेर फरार भएका थिए ।
मोबाइल गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीले सीमा क्षेत्रमा शंकास्पद गतिविधि देखेपछि पछ्याउने क्रममा उनीहरूले टाउकोमा बोकेको गाँजा छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । घटनास्थलबाट १५७ किलो २०७ ग्राम गाँजा बरामद भएको हो ।
बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमा क्षेत्रमा हुने अवैध लागुऔषध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी, नियमित गस्ती तथा चेकजाँचलाई निरन्तरता दिँदै आएको जनाएको छ ।




