सिरहा । सिरहा प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–२ स्थित छेटकी टोलमा सोमबार दिउँसो गरिएको ‘स्वीप अपरेसन’अन्तर्गत खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले प्रदेश ३–०२–०१३ प ६४१२ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय कमलेशकुमार साफीसँग ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको जनाएको छ ।
प्रहरीका अनुसार प्लास्टिकसहित उक्त पदार्थको तौल १६ ग्राम १४० मिलिग्राम र प्लास्टिक हटाउँदा ११ ग्राम ८४० मिलिग्राम रहेको छ ।
घटनामा कमलेशकुमार साफी र सोही ठाउँ बस्ने मोटरसाइकल चालक ३२ वर्षीय सन्तोष यादवलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जनाएका छन् ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




