सिरहा । एनएमबी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) कार्यक्रमअन्तर्गत सिरहाको मिर्चैयास्थित ब्रह्मचारी दामोदरानन्द कलेजलाई चार थान सीसीटीभी क्यामेरा तथा सम्बन्धित उपकरण सहयोग गरेको छ ।

बिहीबार आयोजित एक कार्यक्रममा बैंकका एरिया प्रबन्धक कमलेश प्रसाद यादवले शाखा प्रबन्धक राजकुमार गुप्ता, सहायक प्रबन्धक संगीता कुमारी महतो तथा ऋण अधिकृत अनमोल कुमार यादवको उपस्थितिमा कलेज प्रमुख सञ्जय कुमार साहलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा एरिया प्रबन्धक यादवले एनएमबी बैंकले शिक्षा, स्वास्थ्य, वातावरण तथा समुदायको समग्र विकासलाई लक्षित गर्दै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले सामुदायिक शैक्षिक संस्थाको सुरक्षा र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग गरिएको बताए ।
कलेजका उपप्राध्यापक विवेक कुमार मण्डलले सञ्चालन गरेको कार्यक्रममा उपप्राध्यापक जिबछ कुमार साहले बैंकका प्रतिनिधिहरूलाई स्वागत गरेका थिए ।
कलेज प्रमुख सञ्जय कुमार साहले सामुदायिक कलेजको भौतिक, शैक्षिक तथा सामाजिक विकासमा सरकार, निजी क्षेत्र र दातृ संस्थाहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै एनएमबी बैंकको सहयोगले कलेजको सुरक्षा व्यवस्थापन थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत सहकार्यलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रमको अन्त्यमा कलेज प्रमुख साहले बैंकका प्रतिनिधिहरूप्रति धन्यवाद ज्ञापन गर्दै शिक्षा क्षेत्रमा निजी क्षेत्रको सहभागिताले सामुदायिक कलेजहरूको गुणस्तरीय विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।
एनएमबी बैंक मुलुकभर २०० भन्दा बढी शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय