सिरहा । मनसुनको समयमा हुन सक्ने प्राकृतिक विपद् तथा त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सिरहामा संयुक्त सुरक्षा अभ्यास सम्पन्न गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहा तथा जिल्ला विपद् व्यवस्थापन समितिको संयोजकत्वमा शुक्रबार कर्जन्हा नगरपालिकाको उत्तरायणी क्षेत्रमा आयोजित अभ्यासमा विभिन्न सुरक्षा निकाय, स्थानीय सरकार, रेडक्रस, शैक्षिक संस्था तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षता र कर्जन्हा नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमार श्रेष्ठको विशेष आतिथ्यमा बिहान ९ बजेदेखि १०ः३० बजेसम्म संयुक्त अभ्यास सञ्चालन गरिएको हो ।
अभ्यासका क्रममा बाढी तथा डुबानजस्ता मनसुनजन्य विपद्का बेला अपनाउनुपर्ने उद्धार तथा प्रतिकार्यका विभिन्न विधिहरू प्रदर्शन गरिएको थियो । सुरक्षा निकायले बोटमार्फत उद्धार (बोट रेस्क्यू), अस्थायी उद्धार सामग्री निर्माण (इम्प्रोभाइजेसन), हाईल्याण्ड रेस्क्यू, प्राथमिक उपचार तथा विपद्का बेला स्थानीय बासिन्दाले निर्वाह गर्नुपर्ने भूमिका सम्बन्धी व्यवहारिक अभ्यास प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाली सेनाका सेनानी कैलाशकुमार बस्नेतको कमाण्डमा ४० जना, नेपाल प्रहरीबाट १५ जना, सशस्त्र प्रहरी बलबाट १७ जना, नेपाल रेडक्रस सोसाइटीका ३ जना प्रतिनिधि, राष्ट्रिय सेवा दल (एनसीसी) का ३० जना क्याडेट, भूपू सैनिक, कर्जन्हा नगरपालिकाका सम्पूर्ण वडा अध्यक्ष, विभिन्न विद्यालयका विद्यार्थी तथा स्थानीय सर्वसाधारण गरी करिब २५० जनाको सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालयले मनसुनजन्य विपद्को जोखिम बढ्दै गइरहेका बेला यस्ता संयुक्त अभ्यासले सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय सुदृढ हुनुका साथै विपद्को समयमा छिटो, प्रभावकारी र व्यवस्थित उद्धार कार्य सञ्चालन गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय