सिरहा । विश्व वातावरण दिवसको अवसरमा नेपाली सेनाले सिरहामा बृहत् वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै पाँच हजार बिरुवा रोपेको छ ।
श्री नन्दाबक्स गणको आयोजनामा शुक्रबार बिहान गोलबजार नगरपालिका–९, गोविन्दपुर पाखरगाछ स्थित रचना सामुदायिक वन क्षेत्रमा आयोजित कार्यक्रममा विभिन्न जातका फलफूल, छायाँदार तथा वातावरणीय दृष्टिले महत्वपूर्ण बिरुवाहरू रोपिएका हुन् ।
सेनानी दीपक बस्नेतको नेतृत्वमा सम्पन्न कार्यक्रममा श्री नन्दाबक्स गणका सैनिक जवान, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दासहित करिब २५० जनाको सक्रिय सहभागिता रहेको थियो ।
आयोजकका अनुसार वृक्षारोपण अभियान अन्तर्गत कुल पाँच हजार बिरुवा रोपिएको छ । जलवायु परिवर्तनका कारण बढ्दो वातावरणीय चुनौतीलाई न्यूनीकरण गर्न, स्वच्छ तथा हरित वातावरण निर्माण गर्न र चुरे क्षेत्रको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
नेपाली सेनाले वातावरण संरक्षणलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै नियमित रूपमा वृक्षारोपण, सरसफाइ तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थानीयवासीले समेत यस्ता अभियानले वातावरणीय चेतना अभिवृद्धि हुनुका साथै वन तथा जैविक विविधता संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय