सिरहा । सामाजिक सञ्जालमार्फत विभिन्न ग्याङ्ग तथा समूहको नाम प्रयोग गरी समाजमा आतंक र असुरक्षाको वातावरण सिर्जना गर्ने गतिविधिमा संलग्न २५ जना युवा प्रहरी नियन्त्रणमा परेका छन्।
प्रहरीका अनुसार “King of Balan”, “King of Bhagwanpur”, “King of Lahan”, “Killers Brother” लगायतका नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा समूह गठन गरी युवाहरूले गालीगलौज, धम्कीपूर्ण तथा उक्साहटपूर्ण भिडियोहरू सार्वजनिक गर्दै आएका थिए। यस्ता गतिविधिले सामाजिक सद्भाव तथा सार्वजनिक शान्ति–सुरक्षामा प्रतिकूल असर पार्ने देखिएको प्रहरीले जनाएको छ।
यसै क्रममा सिरहा–चोहर्वा सडकखण्डमा सञ्चालन गरिएको नियमित चेकजाँचका क्रममा ती समूहसँग आबद्ध युवाहरू ट्राफिक नियमको खुला उल्लङ्घन गर्दै फेला परेका थिए। बिना हेल्मेट, आवश्यक कागजपत्रविहीन तथा नम्बर प्लेट नभएका मोटरसाइकलमा एकै मोटरसाइकलमा ३ देखि ४ जनासम्म सवार भई राजमार्गमा होहल्ला गर्दै हिँडिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा परेकामध्ये जिल्ला सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना तथा भगवानपुर गाउँपालिकाका ५ जना रहेका छन्। उनीहरूको साथबाट २१ थान मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गर्दै ग्याङ्ग संस्कृतिलाई प्रोत्साहन गर्ने, सार्वजनिक शान्ति भङ्ग गर्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने गतिविधिप्रति कडा निगरानी बढाइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनविपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि आवश्यक कानुनी कारबाही गरिने प्रहरीको भनाइ छ।
सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै पछिल्लो समय विभिन्न नाममा समूह गठन गरी शक्ति प्रदर्शन गर्ने, धम्कीपूर्ण सामग्री प्रसारण गर्ने तथा सार्वजनिक स्थानमा अवाञ्छित गतिविधि गर्ने प्रवृत्ति बढ्दै गएको छ। यस्ता गतिविधिले युवालाई गलत दिशातर्फ उन्मुख गराउनुका साथै समाजमा असुरक्षा र त्रासको वातावरण सिर्जना गर्ने भएकाले नियन्त्रणका लागि प्रहरी सक्रिय बनेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय