सिरहा । विश्व वित्तीय सप्ताह २०२६ को अवसरमा बहिरा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी एक दिने सचेतना कार्यक्रम सिरहामा सम्पन्न भएको छ ।
सहारा नेपाल द्वारा सञ्चालित होम्स नेपाल परियोजना अन्तर्गत बहिरा माध्यमिक विद्यालय, सिरहा–९ गुलरिया मा आयोजना गरिएको कार्यक्रममा Habitat for Humanity Nepal, नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय तथा JOA को आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण गरिएको थियो भने साना कक्षाका विद्यार्थीहरूलाई चित्रकला र सिर्जनात्मक गतिविधिमार्फत बचत र पैसाको महत्व बुझाइएको थियो । कक्षा १–२ का विद्यार्थीलाई खुत्रुके बचतसम्बन्धी चित्रमा पेन्टिङ गराइएको थियो भने कक्षा ३–४ का विद्यार्थीलाई “पैसा चिनौँ, रङ भरौँ” जस्ता अभ्यासमार्फत वित्तीय चेतना दिइएको थियो । कार्यक्रममा करिब ६० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा बचत गर्ने बानी विकास गराउनु, जिम्मेवार खर्चबारे सचेत गराउनु, बैंकिङ सेवा, डिजिटल भुक्तानी प्रणाली, वित्तीय जोखिम तथा बीमाबारे आधारभूत ज्ञान प्रदान गर्नु रहेको आयोजकले जनाएको छ ।
सहारा नेपालका कार्यक्रम व्यवस्थापक किशन गौतम तथा ह्याबिट्याट नेपालका माधव चौरेल ले वित्तीय साक्षरताको महत्व, बचत, खर्च व्यवस्थापन, डिजिटल भुक्तानी तथा वित्तीय ठगीबाट जोगिने उपायबारे प्रस्तुतीकरण गरेका थिए । साथै, अन्तरक्रियात्मक छलफल, प्रश्न–उत्तर तथा वित्तीय खेलमार्फत व्यवहारिक सिकाइसमेत गराइएको थियो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण का प्रतिनिधिले बीमाको महत्व र उपयोगिताबारे जानकारी दिएका थिए । बहिरा विद्यार्थीहरूको सहज बुझाइका लागि संकेत भाषा शिक्षक तथा द्विभाषीको प्रयोग गरिएको थियो, जसले कार्यक्रमलाई थप प्रभावकारी र समावेशी बनाएको सहारा नेपालका जिल्ला अधिकृत रामभरोसी महतो ले जानकारी दिए ।
कार्यक्रममा सहभागी विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक भोला यादव ले यस्ता कार्यक्रमले बालबालिकालाई सानैदेखि आर्थिक रूपमा जिम्मेवार र सक्षम नागरिक बन्न सहयोग पुग्ने बताए ।
कार्यक्रम व्यवस्थापक गौतमका अनुसार विश्व वित्तीय सप्ताहको अवसरमा सिरहा, सप्तरी, धनुषा लगायत तथा उदयपुर र सुनसरी जिल्लामा समेत यस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय ज्ञान वृद्धि हुनुका साथै बचत गर्ने बानी, जिम्मेवार खर्च गर्ने संस्कार र डिजिटल वित्तीय सेवाप्रति आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय