सिरहा । कारागारभित्र सीमित स्वास्थ्य पहुँचमा रहेका कैदीबन्दीहरूलाई लक्षित गर्दै सिरहा कारागारमा निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा, कारागार कार्यालय सिरहा तथा नेपाल नेत्र ज्योति संघको पहलमा सञ्चालन गरिएको शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोग रहेको थियो ।
बुधबार दिनभर सञ्चालन गरिएको शिविरमा २ सय २७ जना कैदीबन्दीको आँखा तथा कानको निःशुल्क परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी रमेश बहादुर पालले जानकारी दिए । परीक्षणका क्रममा १३ जनामा मोतियाबिन्दु पहिचान भएको छ भने १२ जनालाई पावरवाला चस्मा वितरण गरिएको छ । अन्य कैदीबन्दीलाई आवश्यक औषधि पनि निःशुल्क उपलब्ध गराइएको छ ।
मोतियाबिन्दु देखिएका कैदीबन्दीलाई आवश्यक शल्यक्रिया गरिने तयारी भइरहेको प्रहरीले जनाएको छ । शिविरमार्फत दृष्टिदोष, कानसम्बन्धी संक्रमण लगायत समस्या पहिचान गरी थप उपचारका लागि सिफारिससमेत गरिएको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार कारागारभित्र नियमित स्वास्थ्य परीक्षणको अभाव हुँदा सामान्य समस्या पनि जटिल बन्ने जोखिम रहन्छ । समयमै परीक्षण र उपचारले दीर्घकालीन जटिलता न्यूनीकरण गर्न सकिने उनीहरूको भनाइ छ ।
कारागार प्रशासनले यस्ता शिविरहरूले बन्दीहरूको स्वास्थ्य सुधारसँगै मनोबल वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको जनाएको छ । सीमित स्रोतसाधनका कारण नियमित विशेषज्ञ सेवा उपलब्ध गराउन कठिन भइरहेका बेला यस्ता पहल प्रभावकारी सावित भएका छन् ।
यसैबीच, कैदीबन्दीहरूको मानसिक अवस्था सुधार गर्ने उद्देश्यले कारागारभित्र चलचित्र प्रदर्शनसमेत सुरु गरिएको छ । हालै प्रोजेक्टरमार्फत करिब तीन घण्टासम्म चलचित्र प्रदर्शन गरिएको र यसलाई नियमित बनाउने तयारी रहेको डिएसपी पालले बताए ।
उनका अनुसार “कारागारलाई केवल बन्द गर्ने स्थान होइन, सुधार केन्द्रका रूपमा विकास गर्नुपर्छ” भन्ने अवधारणाअनुसार यस्ता कार्यक्रम सञ्चालन गरिएको हो ।
विशेषज्ञहरूका अनुसार कैदीबन्दीहरू पनि राज्यका नागरिक भएकाले उनीहरूको स्वास्थ्य अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रमलाई नियमित र संस्थागत बनाउनु आवश्यक देखिन्छ ।




