वीरगञ्ज । कृषि प्रधान मुलुक भनिने नेपालमा स्वदेशी उत्पादन कमजोर हुँदा खाद्यान्न आयात वर्षेनी बढ्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामै वीरगञ्ज नाकाबाट मात्र करिब छ अर्ब रुपैयाँ बराबरका विभिन्न खाद्यवस्तु आयात भएका छन् ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउनदेखि कार्तिक मसान्तसम्म १६ थरिका खाद्यवस्तु आयात हुँदा कुल मूल्य पाँच अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब २४ करोड रुपैयाँले बढी हो ।
भन्सार कार्यालयका अनुसार यस अवधिमा सबैभन्दा बढी मकै र धान आयात भएका छन् । करिब दुई अर्ब २९ करोड रुपैयाँ बराबरको चार करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै आयात भएको छ । त्यसैगरी, दुई अर्ब एक करोड रुपैयाँ मूल्य बराबरको पाँच करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम धान भित्रिएको छ ।
धानपछि चामल आयात पनि उल्लेख्य देखिएको छ । चार महिनामा एक अर्ब छ करोड रुपैयाँ मूल्य बराबरको एक करोड नौ लाख ४४ हजार ५६० किलोग्राम चामल आयात भएको भन्सार तथ्याङ्कमा उल्लेख छ ।
विशेषज्ञहरूका अनुसार स्वदेशी कृषि उत्पादनको लागत वृद्धि, बजार व्यवस्थापनको कमजोरी र कृषकलाई पर्याप्त प्रोत्साहन नहुनु आयातमुखी प्रवृत्तिका मुख्य कारण हुन् । कृषि आत्मनिर्भरताको नारा दोहोरिए पनि यथार्थमा खाद्यान्नमा परनिर्भरता झन् गहिरिँदै गएको स्पष्ट देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय