सिरहा । जेन–जी आन्दोलनपछि भएको हिंसात्मक घटनाको मौका छोपेर विभिन्न कारागारबाट फरार दुई जना कैदिबन्दीलाई सिरहा प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।
काठमाडौंको नक्खु र जलेश्वर कारागारबाट फरार भएका दुईजना सिरहामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा नक्खु कारागारबाट फरार भएका सिरहाको लहान नगरपालिका–४ का बैंकिङ कसुर मुद्दाका करिब ५१ वर्षीय रामसेवक यादव रहेको छ ।
यस्तै, प्रहरीले महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका ज्यान मार्ने उद्योगअन्तर्गत पुर्पक्षमा रहेका भारतको मधुवनी थाना झंझारपुरका करिब ३८ वर्षीय गोपाल साहलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र कुमार पासवानले जानकारी दिएकाछन् ।

दुवैजनालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ । त्यसअघि सिरहा प्रहरीले शुक्रबार साँझ नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषध तथा हातहतियार खरखजाना मुद्दाअन्तर्गत जलेश्वर कारागारमा पुर्पक्षमा रहेका २६ वर्षीय रूपेश कुमार बैदार, पर्साको बिर्तास्थित बाल सुधारबाट फरार भएका बाल बिज्याइकर्ताहरू जबर्जस्ती करणी मुद्दाका १४ वर्षीय मोहम्मद सद्दाम अन्सारी र कर्तव्य ज्यान मुद्दाका १५ वर्षीय मोहम्मद सहमद नदाफ गरी तीनजनालाई पक्राउ गरी सम्बन्धित कारागार र बालसुधार गृहमा पठाएको डिएसपी पासवानले बताए ।




