
सिरहा । सिरहामा महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती गरिएको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेका छन् । उनीसँगै औरही गाउँपालिका–५ का पूर्व वडाध्यक्ष तथा जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलीप यादवलाई प्रहरीले शुक्रबार बेलुकी पक्राउ गरेको छ ।
उनीहरूसँग सोधपुछ गर्ने काम भइरहेको र शनिबार पीडित परिवारसँग जाहेरी लिने मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिए ।
महायज्ञ लगाउनका लागि सिरहाको औरही गाउँपालिका–५ का दलित दीपक मलिक डोमको घर भत्काइएको थियो । आयोजक बजरंगी बाबाले महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै दीपकको घर भत्काउन आदेश दिएका थिए । त्यसपछि गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाएर घर भत्काए ।
आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष दिलीप यादव नेतृत्वको समूहले दलित परिवारलाई उठीबास लगाएर मानवबस्तीभन्दा पर एकान्तमा टहरो बनाइदिएको छ । ३० वर्षदेखि बस्दै आएको विपन्न डोम परिवारलाई ‘जनता आवास कार्यक्रम’ ले गाउँपालिकाकै समन्वयमा ५ वर्षअघि केन्द्र सरकारको बजेटमा दुईकोठे पक्की घर बनाइदिएको थियो । तर गत फागुन १० मा गाउँपालिकाकै डोजर लगाएर घर भत्काइएको हो ।
