वीरगञ्ज । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनका लागि वीरगञ्जको चर्चित ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिको लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्ववियु निर्वाचन समिति २०८१ ठाकुरराम बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत दिलीपकुमार सिंहले ठाकुर राम क्याम्पसको स्ववियु सभापति पदका लागि विभिन्न सङ्घ–सङ्गठन र समूहकोतर्फबाट १४ जनाको उम्मेदवारी परेको जानकारी दिनुभयो ।
“आज बिहान ११ बजेदेखि २ बजेसम्मको अवधिमा मनोनयन दर्ता गर्ने समय तोकेका थियौंँ”, उहाँले भन्नुभयो, “यहाँ सभापतिसहित २१ सदस्यीय कार्यसमितिको लागि निर्वाचन हुदैँछ । जसमा प्रत्यक्षतर्फबाट ११ र समानुपातिक निर्वाचन प्रणालीबाट १० जना निर्वाचित हुनेछन् ।” सभापति पदका लागि नेपाल विद्यार्थी सङ्घको तर्फबाट विकास मण्डल धानुक, अनेरास्ववियु पवन यादव, अखिल क्रान्तिकारी अनिषकुमार पटेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यसैगरी सभापति पदका लागि जय नेपाल विद्यार्थी सङ्घबाट राजु गुप्ता, समाजवादी विद्यार्थी युनियनको तर्फबाट हरिकिशोर यादव, समाजवादी विद्यार्थी युनियन नेपाल मोहमद सजिज अली, स्वतन्त्र विद्यार्थी युनियन समूहबाट दिलीपराज महतो, नेपाल विद्यार्थी समूहबाट राजकुमार यादव, स्वतन्त्र युवा समूहबाट श्यामप्रसाद गुप्ता, नेपाल विद्यार्थी कल्याण समूह धर्मेन्द्र साह कानु, राष्ट्रिय विद्यार्थी शुद्धामशुप्रसाद चौरासिया, भोट फर चेञ्ज स्वतन्त्र विद्यार्थी युनियन सिकेन्द्रकुमार यादव, सुधीर पटेल समूहको तर्फबाट कमलेशकुमार यादवको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै गरी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको तर्फबाट दिपेशकुमार साह रहेका छन् । प्रत्यक्षतर्फ सभापति, सचिव र कोषाध्यक्ष र आठ सदस्य निर्वाचित हुनेछन् । समानुपातिकतर्फ भने उपाध्यक्ष, सहायक सचिव र अन्य आठ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचन अधिकृत सिंहले विभिन्न यसअघि यस क्याम्पसको स्ववियु निर्वाचनको लागि ३४ वटा विद्यार्थी सङ्घ, सङ्घठन र समूहले दर्ता गरेका थिए ।
वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा तीन जनाको उम्मेदवारी
वीरगञ्ज नर्सिङ क्याम्पस स्ववियु निर्वाचन समितिका अनुसार सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । वीरगञ्ज नर्सिङ क्याम्पस स्ववियु निर्वाचन समितिका सदस्य सचिव सुरेन्द्र ओझाका अनुसार नेपाल विद्यार्थी सङ्घको तर्फबाट दियान्सु श्रेष्ठ, अनेरास्ववियुको तर्फबाट आर्जु राय र अखिल क्रान्तिकारीको तर्फबाट कविता आचार्यको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार तीनवटै सङ्गठनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
वीरगञ्ज नर्सिङ क्याम्पसमा क्याम्पसमा १५ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुदैंछ। प्रत्यक्षतर्फ अध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच कार्यसमिति सदस्य प्रत्यक्षतर्फबाट निर्वाचित हुनेछन् । त्यस्तै समानुपातिकमध्येबाट एक उपाध्यक्ष जना, सहायक सचिव एक जना र पाँच जना कार्यसमिति सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुनेछन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!