
कोकिला भण्डारी
धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिका भित्रमात्रपाईने अल्पसंख्यक तथा सिमान्तकृत आठपहरीया जातीको वाडाङ्मेटचाडको अवसरमा धनकुटा नगरपालिकाले आज शुक्रबार स्थानीय बिदा दिएको छ ।
नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा नगरपालिका क्षेत्र भित्रका नगरस्तरीय कार्यालयहरु तथा नगर क्षेत्रका सम्पुर्ण विद्यालयहरुमा स्थानीय विदा दिने निर्णय गरी विदा दिएको हो ।
धनकुटा नगर क्षेत्र आठपहरियाको उद्गम स्थल हो । मुख्य गरी वडा नं. २, ७, ८ र ९ मा आठपहरियाको बसोवास छ । देशभर करिब १० हजारको संख्यामा रहेका आठपहरियाहरू मध्ये धनकुटामा झण्डै ८ हजारको बसोबास छ ।
स्थानीय आठपहरिया जातिको महानपर्व भएकाले धनकुटामा बसोवास गर्ने आठपहरिया जातिको मुख्यपर्व वाडाङ्मेटको अवसरमा नगरपालिकाले एक दिन बिदा दिएको हो । यो मंसिरे चाडको रुपमा पनि लिइने यो पर्व कार्तिक शुक्ल पूर्णिमा देखि १५ दिनसम्म आठपहरिया समुदायमा धुमधामका साथ मनाउने गरिन्छ ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङका अनुसार ‘आठपहरियाहरुको मुख्य थलो धनकुटा नै हो, उहाँहरूको मुख्य पर्व भएकाले वाडाङमेटमा हरेक वर्ष बिदादिने गरिएको छ, ‘पहिले दुई दिन बिदा दिने गरिएको थियो, यो पटक भोलि शनिवार बिदाकै दिन भएकाले एक दिन मात्र बिदा दिएका छौं ।’
धनकुटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईका अनुसार नगरपालिकाको तर्फबाट सूचना जारी गरेर नगर कार्यपालिका कार्यालय, वडा कार्यालय तथा नगरपालिका क्षेत्र भित्रका नगरस्तरीय कार्यालयहरू र नगर क्षेत्रका विद्यालयहरू बिदा हुने जानकारी दिएकाछौं ।
यो पर्व तिहारको भाइटीकामा सुरु भई मंसिरे औँसीसम्म मनाउने गर्दछन् ।आठपहरिया जातिले बैशाखे, भदौरे र मंसिरे गरि तीन वटा पर्व मनाउँछन् । जसमध्ये यसलाई विशेष महत्वदिएर मनाउने गरेका छन् । यस चाडमा वर्ष दिनभित्र मृत्यु भएका आमा तथा बुवाको दुःखबाट उक्सिने, घरको जेठो छोरा जन्मिएको र नयाँ घर निर्माण गरेकोमा खुशी साटासाट गर्ने चलन छ ।
भाइटीकाको दिन भैलो खेलेर सुरु गरिएको यो पर्व द्धादशी तिथिमा यो वर्ष भित्र आमा–बाबु गुमाउनेले धनकुटाबाट ५२ किलोमिटर दक्षिण सुनसरीको बराहक्षेत्रको काहाखोलासम्म खालि खुट्टा पुगेर कपाल र दाह्रीखौरिएर स्नान गरी बराहभगवानको दर्शन गरी देवता आफ्नो घरमा लिएर आउने गरेका छन् । मंगलबार बाट शुरु भएको बर्षभरि मरेका आफन्तको सम्झनामा गरिने तीर्थ शुक्रबार सम्पन्न भए सँगै मंसिरे चाड शुरु भएकाले पालिकाले आज एक दिने विदा दिएको हो ।
धनकुटाको आहाले सिमालिबास, सुनसरीको बराहक्षेत्र, कोकाहाहुदै पुन धनकुटाको तम्मोर नदि स्थित भगुवा खोला खुल्ला बगरमा तिनदिने बास र दैबिक आब्हान सहितको तीर्थ आज समापन भएको छ ।
