सिरहा । मधेस प्रदेशका प्रादेशिक अस्पतालहरूमा छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सकहरू आन्दोलित बनेका छन् । प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकले चालू आर्थिक वर्षको तलब भत्ता नपाएपछि आइतबारदेखि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
मधेस प्रदेशका ७ वटा प्रादेशिक अस्पतालका छात्रवृत्ति करारका चिकित्सक अस्पताल जान छाडी आन्दोलित बनेका हुन् । जसका कारण प्रदेशभरिका प्रादेशिक अस्पतालको सेवा प्रभावित बन्न पुगेको छ ।
छात्रवृत्ति करारका चिकित्सकले यसअघि मौखिक रूपमा पटक–पटक अस्पतालका प्रमुख र मन्त्रालयलाई गुहार्दा पनि सुनुवाइ नभएपछि गत असोज २९ मा सबै अस्पताल प्रमुखलाई लिखित ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा उनीहरूले कार्तिक ३ गतेपछि काममा नआउने पनि उल्लेख गरेका थिए ।
कतैबाट पनि आफूहरूका समस्यालाई वास्ता नगरिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको चिकित्सकहरूको भनाइ छ । ‘हामीले पटक–पटक सबैलाई गुहा¥यौं, तर कसैले पनि हाम्रा समस्यालाई गम्भीरतापूर्वक लिएको पाइएन,’ प्रादेशिक अस्पताल लहानमा कार्यरत डा. आकाश राउतले भने, ‘बाध्य भएर हामी ड्युटी बहिष्कारको निर्णयमा पुगेका हौं ।’
ज्ञापन पत्र बुझाएको मितिदेखि ७ दिनभित्र समस्या समाधान नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि उनीहरूको छ । ‘आइतबारबाट हामीले ड्युटी बहिष्कार गरेका छौं ।’ ‘सम्बन्धित निकाय यसैगरी गैरजिम्मेवार बनिरह्यो भने हामीले कडा कदम चाल्नेछौं ।’
छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१ अनुसार छात्रवृत्ति कोटामा अध्ययन पूरा गरेका विद्यार्थीहरूले दुई वर्ष सरकारी अस्पतालमा काम गर्नुपर्ने व्यवस्था छ । जसअन्तर्गत मधेस प्रदेश सरकारअन्तर्गतका प्रादेशिक अस्पतालमा झण्डै एक सय हाराहारीमा चिकित्सक कार्यरत छन् ।
उनीहरूलाई सेवासुविधा संघीय सरकारले उपलब्ध गराउँछ । संघीय सरकारले उनीहरूले काम गर्ने अस्पताल जुन तहका सरकारको मातहतमा हुन्छ, त्यहाँ बजेट पठाइदिन्छ । तर, मधेस प्रदेशमा चिकित्सक आन्दोलित नै हुनुपर्ने परिस्थित बजेट नआएर भन्दा पनि प्रदेशकै ढिलासुस्तीका कारण सिर्जना भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!