सिरहा । मधेसको मिथिलाक्षेत्रमा दशहरा (दसैँ) पर्वका अवसरमा श्रद्धालु भक्तजनले देवीको ‘खोइछ’ (पोल्टा) भर्न थालेका छन् । दसैँको फूलपातीको पूजा विधि सम्पन्न भएसँगै देवीको ‘खोइछ’ भरिने मैथिल चलन छ । खासगरी विभिन्न समयमा देवीको पुकारा गर्दै इच्छित कामना पूरा भएका हरुले भाकलमा ‘खोइछ’ भर्ने गरेका छन् ।
जिल्लाका सबै देवी शक्तिपिठ, दुर्गा मन्दिर र दुर्गा प्रतीमा स्थापित गरिएका ठाउँमा दुर्गा भवानीको ‘खोइछ’ भर्ने भक्तालुको लामो पङ्ति छ । खोइछमा भाकलअनुसार वस्त्रआभूषण, द्रव्य (सुन, चाँदी वा तामाका गहना वा भाँडा), नगद भेटी र नरिवलसहितका फल भर्ने गरिन्छ ।
फूलपाती विधि सम्पन्न गरेपछि सुरु हुने खोइछ भर्ने कार्य नवमी तिथिभरि जारी रहन्छ ।
नवरात्रमा विधिपूर्वक व्रतमा रही दुर्गाको आराधना गर्ने र भक्तिभावले खोइछ भर्ने भक्तमाथि देवीको अनन्य कृपा हुने विश्वास गरिन्छ । देवी दुर्गाको खोइछ भर्ने श्रद्धालुलाई कहिल्यै दारिद्र नलाग्ने हिन्दू मैथिल विश्वास जनमनमा स्थापित छ ।
मिथिलामा देवीको खोइछ भर्ने कार्य पुरुष, महिला दुवैले गर्नसक्छन् । यद्यपि यहाँ खोइछ भर्नेमा अधिकांश महिला देखिन्छन् । देवीदेवतासँग इच्छित कामनाका लागि भाकल गर्ने महिला बढी हुनेहुँदा खोइछ भर्ने महिला बढी हुने गरेको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!