कोकिला भण्डारी, धनकुटा
धनकुटा । बिगतका दिनमा विरामीका लागि सेवा पुर्याउने भन्दै भन्सार छुट या नगदमा खरिद गरिएका एम्बुलेन्सले यतिवेला अवैध रूपमा गाँजा बोक्न थालेका छन् ।
धनकुटाको भेडेटारमा एम्बुलेन्सभित्र ५२ किलो गाँजा फेला परेको छ । साँगुरीगढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा गाँजा फेला परेको हो । एम्बुलेन्समा गाँजा भेटिएपछि प्रहरीले चालक विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय जयदेव चन्द्र चेललाई पक्राउ गरेको जनाएको छ । ५२ वटा प्लास्टिकको प्याकेटमा गाँजा राखेर लैजाँदै गरेको अवस्थामा एम्बुलेन्सभित्र गाँजा फेला परेको ईलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख जीवन कार्कीले जानकारी दिनुभयो ।
झापा स्थित हल्दिबारी सेवा समाजको नाममा रहेको उक्त एम्बुलेन्स नोवेल अस्पताल विराटनगरदेखि साँगुरीगढी गाउँपालिका–३ मा बिरामी लिएर आएको अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ ।




