कोकिला भण्डारी
धनकुटा । धनकुटामा सुन्तलाको व्यापार बढ्दो छ । धनकुटा नगरपालिका–३ पात्ले गाउँका किसानले व्यवसायीक रुपमै सुन्तला खेती शुरु गरेका छन् । गर्यो भने के हुदैन भन्ने दरिलो उदाहरण बनेको छ नगरका किसान ।
तीन नम्वर वडालाई यतिवेला प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना मार्फत सुन्तला जोन कार्यक्रम लागु गरि सुन्तलाको उत्पादन बढाउन अनुदानमा वेर्ना उत्पादनकालागि नर्सरी व्यावस्थापन, बगैचा व्यावस्थापनकालागि सुन्तलामा लाग्ने औसाकिरा नियन्त्रण गर्न औषधि, उपकरण, सिंचाईकालागि प्लाष्टिक पोखरी, पानी ट्यांकी निर्माणलगायतका गतिविधि समेत सञ्चालन गर्दै आएको छ ।
जोन कार्यक्रम लागु भएसँगै उत्पादनमा बृद्धि भएकाले सुन्तला उत्पादक किसानमा खुसि छाएको छ । सुन्तलाबाटै लाखौँ कमाउने गरेको छ । नगरको सुन्तला पकेट क्षेत्रका रूपमा रहेको पात्ले गाउँका किसानले वार्षिक ५० लाख बढीको सुन्तला बेचेरै आम्दानी भएको किसानहरुको भनाइ रहेको छ । अहिले नगरको सबैभन्दा बढी सुन्तला उत्पादन हुने पात्ले, कागते, सिप्तेन गाउँमा लटरम्म पाकेको सुन्तलाले बजार पाएको छ ।
बजार खोज्नु पर्ने बाध्यताको अन्त्य भएको छ । सुन्तला पहेलो हुनु अगावै खरितेहरु बगानमा पुग्ने गरेका छन् । बगानै लिएर जिल्ला बाहिर नगरका उत्पादन बिक्रि गर्ने गरेको सुन्तला ब्यापारी जीतेन्द्र राईले बताए । यहाँका अधिकांस नागरिकको मुख्य पेसा नै कृषि भएकाले सुन्तला खेतीबाट गाउँका प्रत्येक घरले वार्षिक दुईलाख कमाउने गरेको पात्ले गाउँका किसान खेम प्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार बगैँचामा सुन्तला हुर्किंदै गएपछि फर्म नै दर्ता गरि सुन्तला खेती गर्न लागेको हुँ । पुरानो ३० बोटमा फलेको सुन्तला वर्षमा एकलाख पचाँसहजार सम्मको बेच्ने गरेको बताए ।
यसैगरी वडाको तल्लो सिप्तेन गाउँमा २०२४ सालदेखि सुन्तला खेती गर्दै आएका जीतेन्द्र राईले यो वर्ष ४० देखि ५० लाखको सुन्तला उत्पादन भएको बताए । पच्चिस रोपनीबाट हाल ४० रोपनीमा सुन्तला खेती गर्दै आएका राईले मौसम अनुसार दैनिक चार देखि १२ जनालाई रोजगारसमेत दिएको बताए । गत वर्ष २१ लाखको सुन्तला बेचेका राईले भने, “यो वर्ष पोहोरको तुलनामा सुन्तला बढी फलेकाले ४० लाख बढीको बेच्ने आश गरेको छु ।”
सुन्तला बेचेरै हाल २५ रोपनीबाट ७० रोपनी जमिन जोडेका राईले बसपार्कमा मौसम अनुसारका फलफुलको ताजा र अर्गानिक जुस बनाएर समेत बिक्रीवितरण गर्दै आएको छ । अहिले सिप्तेन गाउँको प्रायः हरेक घरमा सुन्तलाको नर्सरी र बगैँचाले भरिभराउ छन् ।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लाको सातवटै स्थानीय तहमा खोकु स्थानीय र धनकुटा स्थानीय जातको सुन्तला उत्पादन हुने गरेको छ । जिल्लामा सबैभन्दा बढी सहिदभूमि गाउँपालिका, धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकामा सुन्तला खेती हुने गरेको ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानाको भनाई छ ।
उनका अनुसार गत आर्थिक वर्ष २०८९÷०८० मा दुई हजार आठ सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा यो वर्ष हावापानी अनुकूलन भएकाले १५ प्रतिशतसम्म उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । हाल आठ सय ७७ हेक्टरमा सुन्तलाखेती रहेको धनकुटामा पाँच सय एक हेक्टरले उत्पादन दिँदै आएको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
पाँच सय पाँच घरधुरी भएको यस वडामा करिब दुई सय ५० किसान व्यावसायिक सुन्तला खेतीमा आवद्ध रहेको वडा नम्वर ३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिएकाछन् । उनका अनुसार यस वडामा सुन्तला बेचेर वार्षिक दुई करोडको हाराहारीमा नगद भित्रने गरेको छ । अहिले धनकुटामा सुन्तलाको खुद्रा मूल्य सानो र ठुलो ग्रडिङ गरेर प्रतिकेजी ६० रुपैयाँदेखि एक सय ८० रुपैयाँ सम्म रहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer