काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र अस्ट्रेलियाको डाक फाउन्डेसनका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा सङ्घका तर्फबाट अध्यक्ष प्रा.डा चेतराज पन्त र फाउन्डेसनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गरेका हुन् ।
डाक फान्डेशनको सहयोगमा अहिलेसम्म करिब ५ लाख बिरामीहरूको आँखा जाँच गरी ५२ हजार बिरामीहरूको निःशुल्क शल्यक्रिया समेत गरिएको बत्ताउँछन् सङ्घका कार्यक्रम व्यवस्थापक रञ्जन शाह ।

अस्ट्रेलियन दम्पती डेभ रिकार्ड र केरी डिकार्डले आफ्नो व्यक्तिगत आयबाट सञ्चालन गरेको फाउन्डेसनले हाले विश्वका करिब १० देशका गरिबिको रेखामुनि रहेका नागरिकहरूलाई विभिन्न स्वास्थ्य सेवाहरू निःशुल्क रूपमा प्रवाह गर्न अनुदान दिइरहेको छ । विश्वका ५ लाख मानिसलाई ज्योतिको दोस्रो अवसर दिने लक्ष्य रहेको बताउँछन् फाउन्डेसनका संस्थापक डेभ रिकार्ड ।
सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपनालाई निवारण गर्ने नेत्रज्योति संघको योजनामा डाक फाउन्डेसनले महत्त्वपूर्ण सहयोग पुर्याइरहेको सङ्घका कार्यकारी निर्देशक डा.शैलेसकुमार मिश्रले बताए । ‘अहिले पनि हाम्रो देशमा कतिपय नागरिकहरू आर्थिक अभावकै कारण आँखा उपचारबाट वञ्चित छन् त्यस्ता नागरिकहरूलाई सेवा प्रवाह गर्न डाक फाउन्डेसन जस्ता दातृ निकायहरूको सहयोग महत्त्वपूर्ण छ’ मिश्रले भने ।
नेपाल नेत्र ज्योति सङ्घले हाल देश भरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरू मार्फत नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।



